वीरगन्ज । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा विदेशी पर्यटक आउने क्रम नबढेपछि व्यवसायी मारमा परेका छन्।विदेशी पर्यटक अत्याधिक आउने सौराहमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी भएपछि पर्यटक आउन छाडेका थिए।तर, बन्दाबन्दी हटेको लामो समय भइसक्दा पनि सौराहामा विदेशी पर्यटक खासै देखिएका छैनन्।बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने सौराहका होटल तथा रेष्टुरेन्ट आधा क्षमतामा सञ्चालन भइरहेको व्यवसायीको गुनासो छ।
अहिले आन्तरिक पर्यटकबाट खर्च धान्नुपर्ने अवस्था रहेको व्यवसायीले बताएका छन्।असोजदेखि चितवनमा पर्यटन व्यवसाय सञ्चालनमा आए पनि अपेक्षाअनुसार पर्यटक नआएपछि व्यवसायीले देशका विभिन्न क्षेत्र पुगेर ‘घुमौं सौराह अभियान’ सञ्चालन गरेका थिए।त्यसपछि कर्पोरेट हाउस, गैरसरकारी संस्था र सरकारी निकायले सौराहमा तालिम, गोष्ठी सुरु गरेपछि भने व्यवसायीलाई केही राहत मिलेको छ। यस्तै आन्तरिक पर्यटक आउने क्रम पनि बढेको छ।कोरोना संक्रमणको जोखिम रोकथामका लागि एक वर्षदेखि भएको लकडाउनले सौराहको पर्यटन क्षेत्रमा करोडौंको क्षति भएको व्यवसायीले बताउँदै आएका छन्।
तैपनि, राज्यले दिने भनेको सुविधा कागजी जटिलताका कारण लिन नसकेको व्यवसायीको गुनासो छ। राहत प्याकेजमा साहुलियत दरको कर्जा सहज ढंगबाट उपलब्ध गराउनुपर्ने क्षेत्रीय होटल संघ नेपाल सौराहका उपाध्यक्ष राममणि खनालले बताए।
कोरोना संक्रमणका कारण थलिएको सौराहको पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न निजी र सरकारी निकायबाट राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्नुपर्ने अवस्था छ।यसका साथै व्यवसायीलाई उपलव्ध गराउने भनिएको आर्थिक प्याकेजलाई व्यवहारमा लागू गर्नुपर्ने देखिएको छ।