आज महाअष्टमी पर्व, शक्तिस्वरुपा महाकालीको विशेष पूजा आराधना गरी मनाइदै
वीरगंज संजाल
१९ आश्विन २०७६, आईतवार १५:२४
३०४५
वीरगन्ज । बडादशैंको आठौं दिन आइतवार शक्तिस्वरुपा महाकालीको विशेष पूजा आराधना गरी मनाइदैछ । यस दिन दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातमा कालरात्रिको पूजा गरिने प्रचलन छ । हनुमानढोकास्थित दशैंघरमा मध्यरातमा शक्तिरुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँ हुनेछ । त्यसक्रममा तलेजु भवानीलाई ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने गरिन्छ ।
यस दिन महाकालीस्वरुपा भद्रकालीको विशेष पूजा गर्ने गरिएको छ । वीरगन्जको गहवामाई मन्दिर र काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन छ । यस्तै, काभ्रेस्थित पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, जनकपुर राजदेवी, डडेल्धुरा उग्रतारालगायत पीठहरुमा पूजाआराधना हुन्छ ।
यस दिन किसानले फलामे औजारको पूजा गर्छन् भने सवारीधनीहरुले आफ्ना साधनलाई बलिसहित पूजा गर्ने परम्परा छ । पशुबली नचढाउनेहरुले पूजाकोठामा मूला, कुभिन्डो, घिरौंलालगायत तरकारीको बलि दिने गर्छन् । कतिपय स्थानमा दुर्गा भवानीलाई खीर र नरिवल चढाउने चलन पनि रहेको छ ।