वीरगन्ज । भारतमा कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि नेपालमा पनि सकर्तकता अपनाउन थालिएको छ । विश्वभर कोरोनाभाइरसविरुद्धको खोप अभियान चलिरहेका बेला छिमेकी मुलुक भारतमा कोभिड १९ का संक्रमित बढ्न थालेपछि नेपालले पनि सीमा क्षेत्रसहित मुलुकभर उच्च सकर्तता अपनाएको हो ।
भारतले उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धको खोप करिब १६ लाख ४४ हजार पाँच सयभन्दा बढी नेपालीले लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा गत माघ १४ गतेबाट सुरु भएको खोप अभियान यही चैत १० गतेसम्म चलेको थियो । तर, खोप सकिएपछि अभियान स्थगित गर्नुपरेको छ ।
पहिलो मात्रा लगाएकाहरुलाई समेत लगाउन खोप अभाव भएको छ । सरकारले आउँदो वैशाख ७ गतेदेखि पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो डोजको खोप लगाउने बताएको छ ।
भारतले ल्याइदियो, चीनले लिन बोलायो
नेपाल दुई शक्तिशाली मुलुकको छिमेकी भएको राष्ट्र हो । उदयमान विश्व शक्तिशाली मुलुक चीन र भारतको छिमेकी भएको हैसियतले उनीहरुको प्रभाव पर्ने विश्वास गरिन्छ ।
यसर्थ आफ्नो देशमा कोरोनाभाइरसविरुद्धको खोप अभियान सुरु भएलगत्तै भारतले नेपाललाई पनि १० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो । सोही खोपबाट नेपालले गत १४ गतेबाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको थियो ।
भारतमा गत ३ माघ (जनवरी १६)बाट कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको हो । आफूले लगाउन थालेको छैटौँ दिन माघ ८ गते १० लाख डोज कोरोनाविरुद्धको खोप काठमाडौं ल्याएको भारतले माघ ९ गते नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका थिए ।
तर, चीनले पाँच लाख डोज खोप उपलब्ध गराउने भने पनि हालसम्म नेपाल आइपुगेको छ । भारतले लगाउन थालेको छैटौँ दिनमै नेपाललाई खोप उपलब्ध गराएको भए पनि चीनले दिने घोषणा गरेको दुई महिना पुग्न लाग्दा पनि खोप आइसकेको छैन ।
नेपालस्थित चिनियाँ दूतावासले गत माघ २५ गते प्रेस नोट जारी गरेर नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने जानकारी दिएको थियो ।
चिनियाँ कम्पनी ‘सिनोफार्म’ले कोभिड–१९ विरुद्ध खोपको पाँच लाख डोज नेपाललाई उपलब्ध गराउन चीन सरकारले निर्णय गरिसकेको चिनियाँ दूतावासले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको थियो । तर, अहिलेसम्म खोप भने आएको छैन ।
भारतले खोप काठमाडौं ल्याइदिएको भए पनि चीनले भने आफैंले नल्याइदिने भएको छ । चीनले खोप लिन आउन नेपाललाई भनेको छ ।