वीरगञ्ज । जिल्ला प्रहरी कार्याल्य पर्साले नजिकिदै गरेको होली पर्वको अवसरमा कुनै पनि सार्वजनिक कार्यक्रमको आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।
छिमेकी राष्ट्र भारतका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमितहरु बढ्दा पुन ः लकडाउन गरिएको हुँदा फागु पुर्णिमा (होली) घरपरिवारमै सुरक्षित भएर मनाउन पर्सा प्रहरीले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चैत ८ गतेको निर्णयअनुसार भिडभाड नगर्न, मास्कको अनिवार्य तथा उचित तरिकाले प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, स्वास्थ्य सावधानी अपनाउन नागरिकको ध्यानाकर्षण गराइएको छ ।
होली पर्वमा सार्वजनिक रुपमा भिडभाड तथा कार्यक्रम गर्न दिए अवस्था भयावह हुने परिकल्पना गर्दै पूर्व सावधानी अपनाउनुपर्ने पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।
घर परिवारमै मर्यादित तरिकाले होली मनाउन अपिल गर्दै घरको झ्याल, छत तथा बराण्डाबाट रङ्ग, पानी, पिच्कारी तथा लोला प्रहार नगर्न पनि आग्रह गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै नागरिकको जिम्मेवारी बहन गर्न पनि विज्ञप्तीमा भनिएको छ ।
साथै पर्वको नाममा धार्मिक साम्प्रदायिक सद्भावमा खलल गर्ने किसिमका गतिविधि भए कानुनबमोजिम कारवाही गरिने पनि विज्ञप्तीमा उल्लेख छ ।