वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल प्रालिको उद्योगमा स्थानीय जनता र जनप्रतिनिधिले लगाएको ताला प्रशासनले तोड्न लगाएको छ ।
उद्योगले जडान गरेको नयाँ मेसिनका कारण छेउछाउका घरहरु चर्कन थालेपछि क्षतिपूर्तिको माग गर्दै स्थानीय र जितुपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को कार्यालयले उद्योगमा लगाएको ताला प्रशासनले सोमबार बाक्लो प्रहरीको उपस्थितिमा तोडेको हो ।
सवारी साधन पाकिङ्ग र गोदाम घरका लागि भनि निर्माण गरिएको संरचनामा जगदम्बा स्टिल प्रालिले उद्योगको नयाँ मेशिन जडान गरेर सञ्चालन गर्दा उद्योग छेउछाउमा रहेका घरका पर्खालहरु चर्किन थालेका थिए ।
स्थानीयहरुले उद्योग विरुद्ध वडा कार्यालयमा गुनासो गरेपछि वडा अध्यक्षले उद्योगलाई पत्र लेख्दै क्षतिपूर्ति उपलब्ध गराउन आदेशसमेत दिएको थियो । तर उद्योगले उक्त आदेशको वेवास्ता गर्दै आएको छ ।
उद्योगलाई पटक-पटक आग्रह गर्दापनि वडा कार्यालयको आदेश नमानेपछि फागुन ११ गते वडा कार्यालयले स्थानीयहरुको रोहबरमा वडा कार्यालयमा तालाबन्दी गरेको थियो ।
उद्योगले रड काट्ने, बाङ्गोटिङ्गो रड सोझाउन ठुलो मेशिन जडान गरेर सञ्चालन गरेपछि घरहरु चर्किएको र रातभर बालवालिकाहरु त्रसित भई सुत्न समेत नसक्ने र झस्कने गरेको स्थानीय बताउँछन् ।
शुरुमा टिभिएस मोटरसाईकलको स्वरुम भनेर संरचना बनाईयो, पछि गोदामघर र पाकिङ्ग भनियो हुदाँ हुदाँ अहिले ठूलोठूलो आवाजमा मेशिन सञ्चालन भएपछि घरहरु सबै चर्किएर भत्किएपनि स्थानीयको मागलाई उद्योगले अटेर गर्दै आएको स्थानिय सोहन शर्माले बताए ।
‘जगदम्बाले सहमती विपरित अहिले ठुलो मेशिन जडान गरेर काम गर्दा घरमा बच्चाहरु, वृद्धवृद्धा झस्किएर निदाउन सक्दैनन्, धुलो धुवाँ र प्रदुषणले हामी सबै आजित भएका छौ,’ शर्माले भने, ‘सबैभन्दा ठुलो जगदम्बा उद्योगले स्थानिय तहको सहमती बेगर पटक-पटक प्लान्ट बिस्तार गर्दै आएको छ ।’
जीतपुरसिमराका २ वडाध्यक्ष तिलक श्रेष्ठले पनि पार्किङ्ग र गोदाम घर भनि मौखिक सहमती लिएर उद्योग प्रशासनले आफुखुसी मेशिन जडान गरेर सञ्चालन गरेको आरोप लगाए ।
‘यहाँवाट उत्पादन केही पनि हुदैन्, हामीले पार्किङ्ग र गोदाम घरको लागि सहमती दिएको भएपनि ठुला मेशिन जडान गरेपछि तालाबन्दी गर्न बाध्य भएका थियौँ,’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘सहमति गर्न खोजेपनि उद्योगले अटेर गरेको कारण सहमति निक्लन नसकेको सकिएको छैन ।’
स्थानियहरुको घर चर्कने र धुलो धुवाँका कारण स्वाथ्य समस्या देखिएको भन्दै उद्योग प्रशासन र स्थानिय बिच धेरै पटक बिवाद र छलफल हुदै आए पनि उद्योगको अटेरका कारण हालसम्म ठोस् निर्णय भने हुन सकेको छैन ।