वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् ।मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, खुशीसाथ हट्छु, तर आउँदो चुनावमा ….डेढ दुई वर्षपछि त चुनाव त आइसक्छ, दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’
तर आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताए । उनले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए । आफूले विघटन गरेको प्रतिनिधिसभा ब्युँतिए पनि केही फरक नपर्ने प्रधानमन्त्री ओलीले बताए ।
‘ब्युँतायो भने के बिग्रियो र ठिकै छ । तर अब प्रतिनिधिसभा कसरी अगाडि जान्छ ? देशको राजनीति कसरी अगाडि जान्छ ? अदालतको फैसलाको मूल्यांकन परिणमले गर्नेछ, म केही बोल्दिन’ उनले भने ।उनले प्रधानमन्त्रीको हैसियतले आफू अदालतको फैसला मान्ने पनि बताए ।
आफू राजनीति गर्ने मान्छे भन्दै प्रधानमन्त्री ओलीले केही माग्न परेमा जनतामा जाने बताए । ‘ म राजनीति गर्ने मान्छे हो । म माग्न जाँदा दरखास्त हाल्न जाँदा तपाईहरुकामा आउँछु, नेपाली जनताको बीचमा जान्छु । ममाथि अन्याय भयो, तपाईहरुले न्याय दिनुस् छु भनेर ।’