मोरङ । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ९ मा सन्थाल जातिका लागि एकीकृत बस्ती निर्माण गरिँदै छ । एकीकृत बस्तीको प्रधानमन्त्री केपी ओलीले मंगलबार शिलान्यास गर्दै छन् ।
प्रधानमन्त्री बस्तीको शिलान्यास गर्न आउने भएपछि त्यहाँसम्म पुग्ने बाटो एकै दिनमा निर्माण गरिएको छ । कहिल्यै राज्यको आँखा नपुगेको ठाउँमा एकै दिनमा बाटो ग्राभेल गरिएको हो ।
२०२८ देखि झाडी फाडेर बसोबास गरेका स्थानीय भने बाटो नबन्दा खेतको आलीबाट हिँड्न बाध्य थिए । स्थानीयले बस्ती बसाउँदा ५०औँ वर्षदेखि भोगचलन गर्दै आएको जग्गा राज्यले हडपिन लागेको भन्दै विरोध जनाएपछि सुरक्षाकर्मी लगाएरै बाटो खनिएको हो । प्रधानमन्त्रीको स्वागतका लागि बनाइएको गेटसमेत स्थानीयले भत्काएर जलाएका थिए ।