भारतीय नेटवर्किङ कम्पनीको ठगी धन्दा, विनविनले डुबायो
वीरगंज संजाल
१६ आश्विन २०७६, बिहीबार ०९:२९
२९९१
काठमाडौं । घोराही उपमहानगरपालिका–१३ बडहराकी उमादेवी नेपालीलाई महिनाको एक लाख कमाइ हुने प्रस्ताव घरमै आइपुग्यो ।
घरव्यवहार र आर्थिक समस्याले थिचिएकी उमाका लागि त्यति पैसा कमाउने अवसर चानचुने थिएन । त्यसका लागि दुई लाख रूपैयाँ तिरेर कम्पनीको सदस्य बन्नुपर्ने भनिएको थियो । दायाँबायाँ विचारै नगरी उनले प्रस्ताव ‘ओके’ गरिदिइन् ।
मासिक एक लाख तलबदेखि ठूलो गार्मेन्ट कम्पनीको सेयर सदस्य पनि बनिने र पाँच वर्षपछि पेन्सन हुने प्रलोभनमा उनी फसेकी थिइन् । ‘मासिक एक लाख तलब हुने, भारतको ठूलो गार्मेन्ट कम्पनीको सेयर सदस्य पनि बन्न पाइने भनेका थिए,’ उमाले भनिन्, ‘सदस्य बनेको पाँच वर्षपछि पेन्सन पनि हुने भनेपछि मलाई प्रस्ताव मन पर्यो ।’
विनविन नामक नेटवर्किङ कम्पनीमा सदस्य बन्न प्रस्ताव लिएर आएकी महिलालाई उमाले सदस्यताबापत दुई लाख रूपैयाँ बुझाइन् । लाखौं रकम कमाउने आशा राखेकी उमाले अन्ततः ठगिएको थाहा पाइन् ।
उमा यतिखेर न्यायका लागि तीन वर्षदेखि जिल्ला प्रहरी कार्यालय धाइरहेकी छन् । उनकै कारण छोरीसमेत फसिन् ।
सदस्य बनेपछि थप सदस्य बनाउनैपर्ने कम्पनीको नियम रहेपछि उनले पहिलो रोजाइमा आफ्नी छोरीलाई पारिन् । छोरीका तर्फबाट बुझाएको दुई लाख रकम पनि फस्यो । ‘आफू सदस्य बनेपछि अरूलाई पनि सदस्य बनाउनुपर्छ भने । मैले पहिलो रोजाइमा छोरीलाई पारें,’ उमाले भनिन्, ‘दुईजनाको गरेर चार लाख रूपैयाँ डुब्यो ।’
आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले यो समाचार लेखेका छन् ।