अचाक्ली महँगीले उपभोक्ता मारमा, सरकार भन्छ– कोही ठगीएका छैनन्
वीरगंज संजाल
१६ आश्विन २०७६, बिहीबार ०९:०६
३०६९
काठमाडौं । दसैंलगायतका चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोग्य सामानको मूल्य निकै आकासिएको छ । बजार अनुगमनमा प्रदेश तथा स्थानीय सरकारको उपस्थिति नभएकाले शहरदेखि गाउँसम्म नै महँगी चुलिएको छ ।
बजारमा भएको अचाक्ली महँगीका कारण उपभोक्ता मारमा परेका छन् । चाडपर्वका समयमा हरेक वर्ष उपभोक्ता ठगिनुपरेको उपभोक्ताले गुनासो गर्दै आइरहेका छन् ।
सरकारले विभिन्न बजारमा अनुगमन गरी बढी मूल्यमा सामान बेच्नेलाई कारबाही गर्दै आएको बताए पनि त्यसको प्रभावकारितामा पश्न उठ्न थालेको छ ।
चाडपर्वको मौका छोपी उपभोक्तालाई ठग्न सक्रिय बिचौलियाहरूलाई कारबाही गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकाभित्रका बजारमा अनुगमन गरे पनि राहत पाएको महसुस नभएको उपभोक्ताको गुनासो छ ।
उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन महँगी नियन्त्रण गर्न सरकारको भूमिका शून्य देखिएको बताउँदै भन्छन्, ‘सरकारले बजारमा उपस्थिति देखाउनै सकेन । विभागसँग एकदमैसीमित जनशक्ति भएकाले एउटा क्षेत्रमा अनुगमन गरे अर्काेतिर छुट्ने भएकाले बिचौलियाले खेल्ने मौका पाएका छन् ।’
विगत तीन वर्षको तुलनामा अहिले महँगी बढेको बताउँदै उपभोक्ता हित संरक्षण मञ्चका सचिव पनि यस्तै विचार व्यक्त गर्दै भन्छन्, ‘सरकारले बजारमा कम उपस्थिति देखाएकाले आवश्यकताअनुसार अनुगमन गर्न नसक्दा जनता मारमा परेका छन् ।’
यद्यपि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महँगी नियन्त्रणका लागि सरकार सदैव गम्भीर रहेको दाबी गरेको छ ।
विभागका महानिर्देशक योगेन्द्र गौचन बजार अनुगमन तीव्र पारिएकाले उपभोक्ता ठगीमा नपरेको दाबी गर्छन् । तर, सरकारले चालू आर्थिक वर्ष २०७६/०७७ को बजेट सार्वजनिक गरेपछि केही वस्तुमा कर बढाएकाले महँगी बढेको गौचनको तर्क छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा परिवर्तन देवकोटाले यो समाचार लेखेका छन् ।