रौतहट | रौतहट भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बराबरको १४ थान राडो ब्राण्डका घडीसहित बुधबार सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
रौतहटको ईशनाथ नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामपुरखापबाट खटिएको टोलीले जाँच गर्ने क्रममा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको राडो ब्रण्ड कम्पनीको १४ वटा हाते घडीसहित गौर नगरपालिका–५ पोखरीया बस्ने १८ वर्षीय निजामुद्धिन खानलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी प्रमोद भारतीले बताए ।
उनका अनुसार ना ३९ प ६७८३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेका खानलाई सशस्त्रको टोलीले शंका लागि जाँच गर्दा उनको साथमा घडी फेला परेको हो ।सशस्त्रले खानले चढेको मोटरसाइकल समेत बरामद गरेको छ ।