भारत | भारतमा अहिले एक २२ वर्षीया युवती दिशा रवि पक्राउको विरोधमा व्यापक लेखिन थालेको छ । सामाजिक सन्जालमा यो गिरफ्तारीलाई धेरैले प्रजातन्त्रसँग जोडेका छन् र यसले हाम्रो भविष्यलाई अन्धकारमा पुर्याउने तर्क गरेका छन् । यसलाई विरोध गर्नेमध्ये एक छन्, नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल ।
२२ वर्षीया दिशा रवि बेंगलुरुकी हुन् । उनलाई दिल्ली प्रहरीको विशेष सेलले शनिबार साँझ बेंगलुरुबाट नै गिरफ्तार गरेको हो । र, उनी पक्राउ पर्नुको एउटै कारण हो, ग्रेटा थनबर्गको ट्विटको समर्थन ।
फ्राइडे फर फ्यूचर नामको संस्थाको संस्थापक हुन्, रवि । अहिले भारतमा भइरहेको किसान आन्दोलनको समर्थनमा ग्रेटाले ट्विट गरेकी थिइन् । त्यसपछि त्यहाँ दर्ता भएको मुद्दामा पक्राउ परेकी हुन् रवि ।
पर्यावरण संरक्षण, वातावरणको सुधारका लागि अनेक अभियानहरु चलाएकी रविलाई पक्राउ गरिएपछि यसको विरोधमा निकै धेरैले लेखेका छन् ।
उनले कहिल्यै पनि कानुन उल्लंघन नगरेको र वातावरण बचाउन उनी लागि परेको भारतमा लेखिएको छ ।‘हामीले निकै धेरै काम सँगै गरेका छौँ,’ भारतका एक पर्यावरणविद् तारा कृष्णास्वामीले भनेका छन्, ‘तर, कानुन कहिल्यै पनि उल्लंघन गरेका छैनौँ ।’अर्कोतिर, दिल्ली प्रहरीले दिशालाई अब दिल्लीको एक अदालतमा पुर्याएको छ । यसमा उसले दिशा रवि टुलकिट गुगल डकुमेन्टको एडिटर भएको उल्लेख गरिएको छ ।
यसका साथसाथै दिशाले भारतीय राज्यप्रति वैमनस्य फैलाउन काम गरेको पनि प्रहरीले आरोप लगाएको छ । ग्रेटासँग यो टुलकिट सेयर गरेको पनि उसले बताएको छ ।दिशालाई राजद्रोह तथा समाजमा समुदायबीच वैमनस्य फैलाएको र आपराधिक षडयन्त्र गरेको मुद्दा लगाइएको छ ।