वीरगञ्ज ।प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहले जनतालाई दुःख दिनका लागि नेपाल बन्दको घोषणा गरे आलोचना गरेका छन् । बुधबार नेपाल भूमिहीन सुकुम्बासी संगठनले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले पार्टी फुटाएर जानेहरुले छटपटाएर बन्दको आह्वान गरेको आरोप लगाए ।
दाहाल–नेपाल समूहप्रति लक्षित गर्दै उनले भने, ‘उनीहरु छटपटाएका छन्, नेपाल बन्द रे, जनताले के बिगार गरेर नेपाल बन्द ? पार्टी छाडेर जाने अनि बन्द गरेर जनतालाई किन दुःख दिनुपर्यो नेपाल बन्द गरेर ?’
जनताले बन्द नचाहेको उल्लेख गर्दै उनले थपे, ‘बन्द भनेको के ? पसल खोल्न नपाउने, किन्न जान नपाउने, अफिस जान नपाउने, स्कुल जान नपाउने, जनतालाई दुःख दिन । त्यो किन के को लागि गर्नुपर्यो बन्द ? जनताले बन्द गरेको होइन, जनताले चाहेको होइन ।’
दाहाल–नेपाल समूह विघटित संसद पुनःस्थापनाको कुरा गरेर कांग्रेस सभापति शेरबहादुर देउवाकोमा धाएको उल्लेख गर्दै ओलीले देश अब निर्वाचनमा गइसकेकाले त्यता लाग्न सबैलाई आग्रह गरे ।