वीरगंज । विश्वका दुई धनाढ्य एलन मस्क र जेफ बेजोसबीच अहिले आपसी विवाद चुलिको छ । टेस्लाका संस्थापक एलन मस्कले आफ्नो ट्वीटरबाट लगातार जेफ बेजोसको ईकमर्स जाइन्ट अमेजनको आलोचना गरिरहेका छन् ।
त्यस्तै आफ्नो नयाँ स्याटेलाइट इन्टरनेट कम्पनी स्टारलिङ्कको रणनीतिलाई लिएर अमेजनका प्रवक्ताले भ्रामक दावी गरेको भन्दै स्पेस एक्सले लगातार आरोप लगाइरहेको छ । हाल स्पेस एक्स स्टारलिङ्कको भूउपग्रह अर्थात् स्याटेलाइट इन्टरनेट सिस्टमलाई योजनाअनुरुपको उचाईभन्दा कम उचाईमा राख्न दिन अमेरिकी संघीय सञ्चार आयोग एफसीसीबाट अनुमतिको अपेक्षामा छ ।
यसैका लागि गत हप्ता स्पेस एक्सका निर्देशक डेभिड गोल्डम्यानले एफसीसीका अधिकारीहरुसँग कुराकानी समेत गरेका थिए । तर यसैबीच बेजोसको कम्पनी अमेजनले स्पेस एक्सका निर्देशकको आग्रह विरुद्ध अभिव्यक्ति दिए ।
स्पेस एक्सको यस किसिमको मागले अन्तरिक्षमा टकरावको खतरा हुने दाबी उनले गरे । साथै यसले सेवाग्राहीका लागि रेडियो अवरोध बढाउने तथा अन्य भूउपग्रहलाई हस्तक्षेप गर्ने समेत उनले बताए ।
सीएनबीसी मिडियासँग बोल्दै अमेजनका प्रवक्ताले भने, ‘यस किसिमको परिवर्तनले अन्तरिक्षमा टकरावको जोखिममात्र पैदा गर्दैन, सेवाग्राहीको हकमा रेडियो अवरोध समेत बढाउनेछ । स्पेस एक्सले ट्वीटरबाट जुन पोस्ट गरेको छ, उसको त्यस किसिमको प्रस्तावले ल्याउने परिवर्तनले स्याटेलाइट सिस्टममा अन्य प्रतिस्पर्धीलाई घाइते बनाउँछ ।स्पेस एक्सले प्रतिस्पर्धालाई कमजोर बनाउन खोजेको कुरा स्पष्ट छ । तर यो सार्वजनिक हितमा छैन ।’ जेफ बेजोसको कम्पनीसँग पनि स्याटेलाइट इन्टरनेट सिस्टम छ ।
जसलाई प्रोजेक्ट कुइपर नाम दिइएको छ । यो परियोजना अन्तर्गत तीन हजार २३६ भूउपग्रह पृथ्वीको कक्षको तल्लो भागमा प्रक्षेपण गर्ने योजना छ ।तर कम्पनीले हालसम्म केही भूउपग्रह उत्पादन सुरु गरेको छैन । अमेजनको मिडियामा त्यस किसिमको दाबी आए लगत्तै एलन मस्कले स्टारलिङ्कलाई कमजोर बनाउनु सार्वजनिक हितमा नभएको र अमेजनको स्याटेलाइट सिस्टमले काम गर्न अझै धेरै वर्ष परको कुरा भएको भन्दै ट्वीट गरेका छन् ।
एजेन्सीको सहयोगमा ।