वीरगञ्ज। मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन फोडेर डिजल चोरी भएको घटना बाहिरिएको छ । भारत विहार राज्यको मोतिहारी जिल्लादेखि नेपालको मुख्य प्रवेशद्वारा वीरगञ्जको सीमावर्ति शहर रक्सौल हुँदै बारा जिल्लाको अमलेखगञ्जसम्म बिछ्याइएको पेट्रोलियम पाइपलाइन फोडेर विहारमा सयौं लिटर डिजल चोरी भएको हो ।
भारतीय सञ्चारमाध्यम नवभारत टाईम्सका अनुसार पाइपलाइनमै जोडिएको पाइपबाट पटना नजिकै प्वाल पारेर डिजेल चोरी भएको हो ।
पाइपलाइन फोडेर डिजेल चोरी भएको घटनाको भारतीय आयल कर्पोरेसन (आईओसी)ले अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा पाइपलाइन फुटाएर केहि व्यक्तिले सयौँ डिजल चोरी गरेको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले दावी छन् ।
भारतदेखि नेपाल आउने पेट्रोलियम पाइपलाइनमै जोडिएको पाइपलाइनमा सो घटना भएपनि नेपालतर्फ क्षति नभएको नेपाल आयल निगमका अधिकारीहरुले बताएका छन् । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट प्रमुख भरत रेग्मीले नेपालले तेल आयातका लागि मिटर जडान गरेको स्थानबाट करिब सय किलोमिटर भारततर्फ सो घटना भएको बताए ।
‘दुई–तीन दिन अघिको घटना हो । आईओसीले अनुगमन गरेर पाइपलाइन निर्माण गरी पुनः सञ्चालनमा ल्याएको,’ रेग्मीले भने । मोतिहारीदेखि अमलेखगञ्जसम्मको पाइपलाइनको दूरी करिब ७० किलोमिटर रहेको छ ।