सर्लाही | जिल्ला तहमा संगठन विस्तारका लागि पुगेका तीन मन्त्रीविरुद्ध नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले कालो झण्डा देखाएका छन्।२ नम्बर प्रदेश केन्द्रित भएका ओली पक्षीय नेकपाका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, शहरी विकास मन्त्री प्रभु शाह र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीला श्रेष्ठलाई दाहाल नेपाल पक्षका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।
सर्लाहीको सदरमुका मलंगुवामा ओली पक्षले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जाने क्रममा नवलपुर नगरपालिकाको लाबन्दीमा नेपाल दाहाल पक्षले कालो झण्डा देखाउँदै मन्त्रीहरुविरुद्ध नाराबाजी गरेको हो।सर्लाहीमा नेकपाको दाहाल नेपाल पक्षमा अत्याधिक बहुमत देखिएको छ। जिल्ला कमिटीका १६५ जना सदस्यमध्ये दाहाल नेपाल पक्षमा १५४ जना छन्।
त्यस्तै जिल्लाबाट प्रदेश कमिटिमा रहेका ३४ जना मध्ये २६ जना र केन्द्रीय कमिटिमा जिल्लाबाट रहेका ८ मध्ये ६ जना दाहाल नेपाल पक्षमा खुलेका छन्। अहिले मन्त्रीहरुले मलंगुवामा आयोजित कार्यक्रममा सम्बोधन गरिरहेका छन्।