वीरगंज | अमेरिकामा क्यापिटल हिंसापछि डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन डेमोक्रेटिक पार्टीले संविधानको २५ औँ संशोधन लागू गर्न उपराष्ट्रपति माइक पेन्स सामु प्रस्ताव पेस गरेको छ ।
केही दिनअघि अमेरिकामा भएको घटनालाई लिएर त्यहाँका कैयौँ सांसदहरूले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउन माग गरेका छन् । ट्रम्पले आफ्ना समर्थकलाई भड्काएपछि उनीहरू क्यापिटल परिसरमा पसेर उपद्रो मच्चाएको आरोप छ ।
यसअघि प्रतिनिधि सभाकी सभामुख नेन्सी पेलोसीले आइतबार सांसदहरूलाई पत्र लेखेर महाअभियोगअघि सदनमा प्रस्ताव पेस गरेर ट्रम्पलाई हटाउनका लागि उपराष्ट्रपति पेन्स र क्याबिनेटसँग आग्रह गरिने बताएकी थिइन् ।
उनले २५ औँ संविधान संशोधनको प्रावधानअनुसार ट्रम्पलाई हटाउन अलमल गरे २४ घण्टाभित्र सदनमा महाअभियोगको प्रक्रिया सुरु गर्ने बताएकी थिइन् । यस प्रस्तावमा मङ्गलबारसम्म मतदान गराउने तयारी छ ।
पेलोसीले भनिन्, ‘हाम्रो संविधान र लोकतन्त्रको रक्षाका लागि हामीले तुरुन्त कदम चाल्नुपर्छ, राष्ट्रपति ट्रम्प पदमा बसिरहनु लोकतन्त्र र संविधानका लागि खतरा छ ।’