वीरगंज | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका केही महत्वकांक्षी नेताहरुले अस्थिरता मच्चाउन खोजेकाले प्रतिनिधिसभा विघटन गरेको प्रष्टिकरण दिएका छन्।सोमबार बेलुका एक भारतीय टेलिभिजनलाई दिएको अन्तवावार्तामा ओलीले अस्थिरता निम्त्याउने कोसिस भएकाले आफूले त्यसलाई असफल बनाएको दाबी गरेका हुन्।
अन्तरवार्तामा ओलीले भने, ‘पार्टीका केही मत्वकांक्षी व्यक्तिले देशलाई अस्थिरतातिर घचेट्ने कोसिस गरे। जसका कारण प्रतिनिधिसभा विघटन गरेँ।’
ओलीले भारतको एक पक्षसमेत आफूलाई हटाउन लागि परेको आरोप लगाए। आफूविरुद्ध माहोल बनाउन भारतीय सञ्चार माध्यमले समेत सामाग्री प्रशारण गरेको उनले बताए। ओलीले भने, ‘भारतका केही पक्ष मलाई हटाउन लागेका छन्। मिडिया पनि त्यस खालका सामाग्री दिइरहेका छन्। भारतीय मिडियाको प्रस्तुति सकारात्मक खालको थिएन।’
ओलीले आफूले भनेका र गरेका जति सबै काम संवैधानिक हुन् भन्ने जिकिर समेत लिए। संसद विघटनपछि चुनावको घोषणा भएको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु ठीक हो त? भन्ने प्रश्नमा ओलीले जवाफ दिए, ‘संसद विघटनपछि मन्त्रिपरिषद विस्तार गर्नु पनि संवैधानिक नै हो। विभिन्न देशमा आआफ्ना खालका संविधान छन्।’उनले भारतसँगको धेरै राम्रो अवस्थामा रहेका उल्लेख गरे। भने, ‘विगत भन्दा सम्बन्ध राम्रो छ। राम्रो हुँदै गएको छ। ब्रिटिस इण्डियापछि हामीले लगातार सम्बन्ध सुधार गरिरहेका छौँ।’