वीरगंज। करदाताहरूले आन्तरिक राजस्व कार्यालयको राजस्व ई–सेवाबाट नै दाखिला (भुक्तानी) गर्न सक्ने भएका छन् ।अबदेखि करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य सेवा शुल्क ई–सेवाबाटै बुझाउन सकिने भएको हो ।
ई–सेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सकिनेछ भने ई–सेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका ई–सेवा जोन तथा ई–सेवा प्वाइन्टबाट कर भुक्तानी गर्न सक्नेछन् ।
यो सहकार्यबाट सरकारको नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उद्देश्य कार्यान्वयन अभियानमा सघाउ पुगेको ई–सेवाको दाबी छ । यो सुविधाबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झञ्झटबाट मुक्ति मिल्नेछ । यो सेवा आन्तरिक राजस्व कार्यालयको वेबसाइटबाट लिन सकिन्छ ।
ई–सेवाबाट कसरी तिर्ने कर ?
कार्यालयको करदाता पोर्टलमा गइ बायाँतर्फ रहेको जनरलमा क्लिक गरी ट्याक्सपेयर लगइनमा क्लिक गर्नुपर्ने छ । त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखी पेमेन्ट भौचरमा क्लिक गर्नुपर्ने छ । त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेस्ट बैंक राखी आफूले बुझाउन चाहेको करको प्रकार, राजस्व शीर्षक र करबापतको रकम उल्लेख गर्नुपर्ने छ । सो काम गरिसकेपछि आर्थिक वर्ष छनोट गरी जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्ने छ ।
उक्त ट्रान्जेक्सन कोड टिपेपछि ई–सेवामा क्लिक गरी ई–सेवाको वेबसाइट खोल्नुपर्ने छ । त्यसपछि फाइनान्सियल कम्प्टोलर जनरल अफिसमा क्लिक गर्नुपर्ने छ । त्यसपछि आफूले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरी कर भुक्तानी गर्न सकिनेछ । आफूले भुक्तानी गरिसकेपछि राजस्व कार्यालयको वेबसाइटमा हेर्न सकिनेछ र भुक्तानी भएपश्चात् पूरा भएको देखिन्छ ।