वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले भारी मात्रामा लागूऔषध चरेस बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ मा पर्ने परवानीपुरदेखि ड्राईपोर्ट सडक खण्डबाट कन्टेनर ट्रक भित्रबाट १ सय ७ किलोग्राम चरेस बरामद गरेको हो । विशेष सूचनाको आधारमा प्रदेश प्रहरी प्रदेश नं. २ र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बुधबार राति साढे १० बजेको करिवमा नेपालबाट भारत तर्फ जाँदै गरेको कन्टेनर ट्रकलाई रोकेर चेकजाँच गर्दा कन्टेनर भित्र राखिएको ग्यालनबाट चरेस बरामद गरेको थियो । प्रहरीले ट्रकबाट १ सय ७ वटा एक/एक किलोको चरेसको प्याकेट बरामद गरिएको जनाएको छ ।
ना ६ ख ५६४३ नम्बरको ट्रक भित्र राखिएको ग्यालनलाई चेकजाँच गर्दा फल्स बटम बनाएर त्यसभित्र लुकाएर राखेको अवस्थामा चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । प्रहरीले ट्रकका चालकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर ११ बस्ने ३४ वर्षीय रविन तामाङ रहेका छन् । ट्रक तामाङकै नाममा रहेको प्रहरीले जनाएको छ ।
तामाङले कन्टेनर ट्रकमा धेरै दिनदेखि चरेसलगायत विभिन्न लागूऔषध भारततर्फ ओसारपोसार गरिरहेको हुनसक्ने प्रहरीको आशंका छ । लागूऔषध ओसारपोसारमा वीरगञ्जका केहि व्यक्ति समेतको संलग्नता हुनसक्ने प्रहरी स्रोतको दावी छ । पक्राउ परेका तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।