वीरगंज । निर्वाचन आयोग १७ र २७ बैशाखका लागि तय प्रतिनिधि सभा निर्वाचनको कार्ययोजना बनाउन जुटेको छ । संसद विघटनसँगै नयाँ निर्वाचनका लागि मिति घोषण भएपछि आयोग निर्वाचन तयारीका लागि कार्य योजना बनाउन जुटेको हो ।
आयोगले दुई चरणमा गरी हुने निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान समेत गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोग निर्वाचनको तयारीमा जुटिसकेको बताए । ‘निर्वाचन मिति घोषणा भएसँगै आयोग निर्वाचनको तयारीमा अघि बढिसकेको छ, आयोगले केही दिन भित्रै कार्ययोजना सहित निर्वाचनको खाका ल्याउँछ ।,’ प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अघिल्लो पटक भन्दा यस पटक आयोगले भिन्न तरिकाबाट निर्वाचन कार्ययोजना बनाउँने बताए । ‘यस पटक कोभिड १९ लाई पनि ध्यानमा राखेर निर्वाचन कार्ययोजना बनाउनु पर्ने अवस्था छ, निर्वाचन तालिका, कार्यक्रम र खर्च सहितको कार्ययोजना छिटै ल्याउँछौं,’ प्रवक्ता श्रेष्ठले भने ।
अन्तराष्टिय प्रचलन अनुसार आयोगलाई निर्वाचनका लागि निर्वाचन घोषणा भएको मितिले १ सय २० दिन समय चाहिने र त्यसका लागि आयोगलाई पर्याप्त समय रहेको समेत उनले बताए । आयोगले मिति घोषणा भएसँगै मतदाता नामावली संकलन भने बन्द गर्न जिल्लास्थित निर्वाचन कार्यालयहरुलाई निर्देशन गरिसकेको छ । आयोगका प्रमुख आयुक्त सहित आयुक्तहरुको टोलीलाई गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा लाग्न र आवश्यक योजना बनाउँन निर्देशन दिएका थिए । सो क्रममा आयोग टोलीले दुई चरणमा गर्नु पर्ने भएका कारण खर्च बढ्ने भन्दै निर्वाचनका लागि अनुमानित ८ अर्ब खर्च लाग्ने बताएका थिए ।
यसअघि २०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको निर्वाचन आयोग बताउँछ । त्यस बखतको निर्वाचनमा निर्वाचन प्रचार, मतदाता शिक्षा, सुरक्षा तथा मतदानमा चाहिने सामग्रीमा गरी ३० अर्बभन्दा बढी खर्च भएको थियो । आयोगले यस पटकको निर्वाचनमा भने अघिल्लो निर्वाचनमा प्रयोग गरिएका धेरै सामग्री प्रयोग गर्न सकिने समेत बताएको छ । आयोगसँग अघिल्लो पटक प्रयोग गरिएका मतपेटिका समेत यस पटक धेरै जसो काम लाग्ने अवस्थामा छ ।