वीरगन्ज । नेकपाकी नेतृ तथा प्रतिनिधिसभामा सांसद रहेकी शशि श्रेष्ठले प्रतिनिधिसभा विघटन हुने प्रावधान अहिलेको संविधानले व्यवस्था नगरेको उल्लेख गरेकी छन्।
उनले संसद भवनमा देशसञ्चारसँग कुरा गर्दै अहिलेको संविधानले प्रतिनिधिसभा विघटन हुने प्रावधान नराखेकाले प्रतिनिधिसभा विघटन हुनै नसक्ने बताएकी छन्।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका सांसदहरुको भेलामा संसद भवनमा उपस्थित भएकी नेतृ श्रेष्ठले पार्टीले प्रधानमन्त्री ओलीलाई असहयोग नगरेको नभई उनले पार्टी विधान नमानेको बताएकी छन्।
अहिलेको संविधानले प्रधानमन्त्रीलाई त्यो विशेषाधिकार नदिएको उल्लेख गर्दै नेतृ श्रेष्ठले यो संविधान प्रधानमन्त्री ओलीले नचाहेका कारण उनले यस्तो घटना गराएको उल्लेख गरेकी छन्।
‘उहाँले विधिप्रक्रिया मिच्ने, संविधानका प्रावधानहरु मिच्ने काम गर्नुभएको छ,’ उनले भनिन्।