सप्तरी । सप्तरीसहित तराई–मधेशमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेको छ । तीन/चार दिनदेखि मौसममा एक्कासी परिर्वतन आएर चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो । मङ्सिरको अन्तिम सातादेखि प्रदेश नं २ का आठ जिल्लामा बिहान र साँझ बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले अत्यधिक जाडो बढेको हनुमानगर कङ्कालनी नगरपालिकाकी वृद्धा कलमवतीदेवी बडियैत यादवले बताए ।
चिसो छल्न सर्वसाधारण चोक चोकमा आगो बालेर बसेका छन् । पूर्व–पश्चिम राजमार्गको सडक तथा सहायक राजमार्गको सडकमा बाक्लो हुस्सु र कुहिरो लागेपछि सडकमा हिँड्न र सवारी चलाउन समस्या हुन थालेको चालक सदानन्द यादवले बताए । आजभोलि दिउँसो राम्रोसँग घाम नलाग्ने हुँदा चिसोबाट बच्ने उपाय अपनाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले सर्वसाधारणलाई सूचना प्रकाशित गरी आग्रह गरेको छ ।
शीतलहरले गरिब, दलितको जनजीवनलाई बढी प्रभावित पारेको छ । खासगरी डोम, मुसहर र दलित वर्गलगायतका बस्तीमा शितलहरले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई समस्या भएको छ । “दिनभरि मजदूरी गरेर दुई छाक टार्न समस्या भएको बेला कहाँबाट न्यानो लुगा खरिद गर्नु ?’, डोम जातीका अगुवा युक्ति मरिकले भने, “सप्तरीमा हामी जस्ता हजारौलाई न्यानो लुगाको खाँचो छ, हावा छेक्ने घर छैन ।” शीतलहरकै कारण आफू जस्ता कमजोर आर्थिक स्रोतका जनता अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतामा रहेको उनको भनाइ छ ।
हात्तीपीडित परिवारलाई राहत
सप्तरीको पश्चिमी भेग सुरुङ्गा नगरपालिका–१ चहका टोलीका जङगली हात्तीबाट पीडित ३६ दलित परिवारलाई नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले राहत वितरण गरेका छन् । उनीहरुलाई प्रतिपरिवार २५ किलो चामल, भुजा पाँच किलो, खाने तेल एक लिटर, नून एक किलो, दाल दुई किलो, कम्बल एक थान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले जानकारी दिए ।
केही दिनअघि कोशीटप्पु वन्यजन्तु आरक्षबाट जङ्गली हात्तीले स्थानीय करिया सदा, जतरु सदा, रामलोचन सदा, टुरा सदा, बौका सदा, मन्जय सदा, रामदेव सदा, लक्ष्मण मण्डल, श्यामसुन्दर सदासहितका घर तोडफोड गरेको थियो । हात्तीले उनीहरुको घर तोडफोड गर्नुको साथै अन्नपात खाँदा बिच्चलीमा परेका थिए । केही दिनयता कोशीटप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्केको हात्तीले जिल्लाको पूर्वी, उत्तरी र पश्चिमी भेगमा आतङ्क मच्चाउँदै आएको छ ।
स्वास्थ्यचौकी भवन उद्घाटन
प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधुवापुरमा नवनिर्मित स्वास्थ्यचौकीको उद्घाटन गरेका छन् । सघन शहरी विकास तथा भवन निर्माण योजनाको करिब रु दुई करोड ५३ लाखमा सो भवन बनेको हो । मन्त्री साहले स्वास्थ्य चौकिको स्तरोन्नति र थप सेवा विस्तारमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।ratopati