वीरगंज । चर्चित हाँस्य कलाकार मनोज गजुरेलले पूर्वपत्नी मिना ढकाल विरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।
डिभोर्स भइसक्दा पनि विभिन्न माध्यमबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएकाले कानुनी कदम चाल्न बाध्य भएको उल्लेख गरेका छन्।
कलाकार गजुरेलले पूर्वपत्नी मीना ढकालसँगको २२ बर्षको वैवाहिक सम्बन्ध केही बर्ष अघि आपसी सहमतिमा टुङ्ग्याएका थिए। सम्बन्ध विच्छेदपछि छोरा गजुरेल र छोरी ढकालसँग बस्दै आएकी थिइन्।
हाल आएर छोरी पनि आफैसँग बस्न थालेको समेत गजुरेलले जानकारी समेत दिएका छन्।
हालै कलाकार गजुरेलले आफन्त र परिवारको सल्लाह सुझाव अनुसार अर्को विवाह गर्ने तयारीमा रहेको बताएका थिए।
दोस्रो विवाह गर्ने तयारी गरेको खबरपछि पूर्वपत्नी ढकालले गजुरेल विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्दै आएकी छन्।
विभिन्न आरोप प्रत्यारोप आउन थालेपछि कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको कलाकार गजुरेलले बताएका छन्।
कानुनी उपचारको बाटो उपनाउने बताउँदै उनले लेखेका छन्,‘सामाजिक सञ्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावश्यक टीका टिप्पणी, युट्युबमा उनीहरुको फोटोको दुरुपयोगले मेरा सन्तानको पढाइ र जीवनमा आघात परिरहेको छ। अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु।’
यस्तै, युट्युवे र सामाजिक सञ्जालमा आफ्नो नाम जोड्दै भ्रमपूर्ण पोस्ट गर्न खोज्ने विरुद्ध पनि उपचार खोज्ने कलाकार गजुरेलले चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमा गजुरेलले यस्तो लेखेका छन्।
प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
१) झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ। तर, कानुनी रुपमै आ-आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन। एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ। दुई सन्तानको जिम्मा लिएर बसेको अभिवाभकको नाताले चुपचाप सहेँ। तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखलाले बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो। त्यसैले बाध्य भएर केही प्रष्टिकरण गर्न भएको छु।
२) सकिएको सम्बन्धको आधारहिन आरोप र प्रत्यारोपले मेरा छोराछोरीलाई धेरै ठुलो असर गर्न थालेको महसुस हुँदैछ। मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु। अब मैले अदालतमा बुझाउन आबश्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य भएको ठान्दैछु। सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेकोछु।
३) अंश सहित आफुसँग बस्न लगेकी छोरी डिभोर्सको ८ महिनामै आमासँग बस्न नरुचाएर घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु। अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छोरीको नाममा लगेको अंश बाहेक। तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा उनिहरुका फोटोको दुरुपयोगले मेरा सन्तान पढाइ र जीवन आघात परिरहेको छ।
४) युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुरोध गर्दछु-मेरो नाम, फोटो र प्रसङ्ग जोडेर कसैसँग ‘अन्तर्वार्ता’ लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस्। अनि, देशको कानुनलाई मनन गर्नोस् भन्ने अनुरोध गर्दछु जसले भोलि कानुनी अप्ठेरो नपरोस्।
५) यो पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तकको धेरै पटकको आग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद!