वीरगंज। चार वर्षदेखिको बक्यौता नपाएर दोस्रो चरणको आन्दोलन गरिरहेका उखु किसान सरकारले सोमबार बोलाएको वार्तामा गएनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार वार्तामा आउने उखु किसानलाई बोलाएको थियो ।
चिनी उद्योगीसँग छलफल गरेको मन्त्रालयले वार्ताका लागि बोलाउदा किसान नआएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले वार्तामा बोलाउँदा उखु किसान नआएको बताए । “हामीले वार्तामा बोलाएका थियौं, उहाँहरु आउनुभएन । भोलि पत्र लेखेर वार्तामा आउन भन्छौँ,” उनले भने । उखु किसान भने गतवर्ष आफूहरुसँग भएको सहमति कार्यान्वयन नगरेसम्म वार्तामा नबस्ने बताउँछन् ।
उखु किसान संघर्ष समितिका सचिव हरी श्याम रायले सरकारले वार्तामा बोलाए पनि नगएको बताए । “गतवर्षको सहमति कार्यान्वयन नगरेसम्म वार्तामा नबस्ने सबै किसानले भनेका छन् । हामी वार्तामा बस्दैनौं,” उनले भने ।