वीरगंज | हप्तामा दुई दिन सार्वजनिक बिदा दिने विषयमा सरकारले गठन गरेको अध्ययन समितिले प्रतिवेदन बुझाएको छ।संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा गठित अध्ययन समितिले अन्तराष्ट्रिय अभ्यासलाई समेत ध्यान दिँदै नेपालमा दुई दिन बिदा दिन उपयुक्त हुने ठहर गरेको हो।
हाल दिइँदै आएको शनिबारको बिदामा आइतबार पनि थप गर्ने र शुक्रबार पूरा समय कार्यालय खोल्न उपयुक्त हुने अध्ययन समितिको सुझाव छ।समितिले अध्ययन गरेका विश्वका १२७ देशमध्ये ११६ देशले हप्तामा दुई दिन बिदा दिने गरेको र एसियाका ४३ मध्ये ३८ देशले सातामा दुई दिन बिदा दिने गरेको देखाएको छ। सातामा दुई दिन बिदा दिने चलन अन्तर्राष्ट्रिय रुपमा सफल र व्यवाहारिक भएको समितिको प्रतिवेदनमा उल्लेख छ।
सार्क राष्ट्रका नेपालबाहेक अरु सबै देशले हप्तामा दुई दिन बिदा दिने गरेकाले नेपालको सन्दर्भमा पनि उपयुक्त हुने समितिले सिफारिस गरेको छ।समितिले निजी क्षेत्रमा समेत दुई दिने बिदा कार्यान्वयनमा ल्याउनु उपयुक्त हुने सुझाव दिएको छ।दुई दिने बिदाले आन्तरिक पर्यटन प्रवद्र्धन, सार्वजनिक खर्चमा कतौती, इन्धन खपतमा कटौती, उत्पादकत्व वृद्धिले जीडीपीमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘शुक्रबारको ५ घण्टाको कार्यालय समयलाई हप्तामा अन्य ५ कार्यदिन १/१ घण्टाको दरले कार्यालय समय बढाइदिँदा शुक्रबारको अनुत्पादक समयसँम सेवाग्राहीले कुर्नु नपर्ने र ६ दिनमा हुने काम ७ दिनमा नै सम्पन्न हुने हुन्छ। नेपालमा लगभग सबै सवारी साधान पेट्रोल, डिजेल जस्ता जैविक इन्धनबाट चल्ने भएकोले यातायात र इन्धनको उपयोगमा कटौतिसँगै केही मात्रमा कार्बन उत्सर्जनमा समेत कमी आउने र पर्यावरणीय सन्तुलनमा समेत मद्दत पुग्नेछ। उल्लेख्य संख्यामा रहेका सार्वजनिक सवारी साधनहरुको सञ्चालन तथा मर्म सम्भारमा खर्चमा कमी आउनेछ।’