वीरगंज | यस वर्षको डिसेम्बर २१ अर्थात पुस ६ गते उत्तरी गोलार्धमा लामो रात र दक्षिणी गोलार्धमा लामो दिन मात्रै होइन करिब चार सय वर्षपछि एउटा दुर्लभ खगोलीय घटना पनि हुने भएको छ।त्यस रात हामीले दक्षिण पश्चिम दिशामा हेर्दा वृहस्पति र शनि ग्रह जोडिएको देख्ने छौँ। पृथ्वीबाट वृहस्पति र शनि त्यति नजिक ३ सय ९७ वर्षअघि देखिएको थियो। अर्थात् पृथ्वीनारायण शाह जन्मिनुभन्दा ठ्याक्कै एक सय वर्षअघि यस्तै घटना भएको थियो। ग्यालिलियो ग्यालिलीले टेलिस्कोपको आविष्कार गरेपछि वृहस्पति र शनि दोस्रो पटक पृथ्वीबाट आपसमा यति नजिक देखिन लागेका हुन्। टेलिस्कोप सन् १६०९ मा निर्माण भएको हो।
यसलाई महासंयोजन (ग्रेट कन्जक्सन) भनिन्छ।
पुस ६ गते घाम अस्ताएर अध्याँरो हुनेबित्तिकै पाँच बजेर ३१ मिनेटबाट वृहस्पति तथा शनि उदाउने र साढे सात बजे नै अस्ताउने छन्।
सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह भौतिक रुपमा एकअर्काको नजिक आउने भने होइनन्। त्यस समयमा दुवै ग्रहबीचको दुरी ७३ करोड ५० लाख किलोमिटर हुने छ। जुन दुरी सूर्य र पृथ्वीबीचको दुरी भन्दा ४.३२ गुणाले बढी हो। तर त्यस रात पृथ्वीबाट हेर्दा भने दुवै ग्रह जोडिएको देखिने छ। जसको आकार चन्द्रमा ५ प्रतिशत जत्रै हुने छ।
‘पश्चिम दक्षिण दिशामा हेर्दा ती ग्रह देखिने छन्,’ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ऋषि शाहले भने, ‘उदाउँदा २१ डिग्रीमा देखिने छ। यी ग्रहहरु नजिक आएर होइन, सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीबाट हेर्दा जोडिएको जस्तो देखिने हो।’
उनका अनुसार सबैभन्दा उत्तम समय भने राति ११ बजेर ४५ मिनेटमा हुने छ। त्यस समयमा पृथ्वीबाट हेर्दा ०.१ डिग्रीको फरकमा यी दुई ग्रह हुने छ।
‘दुई वटा ग्रह जोडिएर एउटा ठूलो तारा जस्तो बनेको देखिन्छ,’ नेपाल एस्ट्रोनोमिकल सोसाइटी(नासो)का अध्यक्ष सुरेश भट्टराईले भने, ‘खुला आँखाले हेर्दा जोडिएको जस्तो देखिएपनि बाइनकुलर र टेलिस्कोपबाट हेर्दा भने यो फरकफरक देखिन्छ।’
यस्तो दृश्य अर्को पटक ६० वर्षपछि अर्थात् सन् २०८० मा देखिने छ। पृथ्वीले सूर्यलाई परिक्रममा गर्न एक वर्ष लगाएजस्तै वृहस्पतिले सूर्यलाई ११ दशमलव ९ वर्ष र शनिले २९ दशमलव ५ वर्षमा पृथ्वीको परिक्रमा गरिसक्छ। जसको कारण प्रत्येक १९.६ वर्षमा पृथ्वीबाट हेर्दा वृहस्पति र शनि नजिकै देखिन्छ।
प्राज्ञ शाहका अनुसार सौर्यमण्डलको स्थायित्व र पृथ्वीलाई बचाइराख्न पनि वृहस्पति र शनि ग्रहको भूमिका प्रमुख मानिन्छ।
‘क्षुद्र ग्रह, पुच्छ्रेतारा जस्ता तीव्र गतिमा आउने अनेकौँ वस्तुहरु पृथ्वीतर्फ आउन सक्थे। तर, तिनलाई यी दुवै ग्रहले रोक्छन्,’ उनी भन्छन्।
वृहस्पति र शनि ग्रहको बीचमा क्षुद्र ग्रह बेल्ट नै छ।