सिन्धुपाल्चोक । सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका घर भएका आशिष गिरी सवारी चालक अनुमतिपत्र बनाउने ‘धन्दा’ गर्थे । आशिष भन्थे–‘पैसा भनेजित चाहिन्छ, सक्कली लाइसेन्स घरमै आउँछ !’ सो कुराको सुराक पाएपछि प्रहरीले उनलाई पछ्याउन थालेको थियो ।
हुन्डाईको आई–ट्वान्टी कारमा सवार आशिषलाई मंगलबार ट्राफिक महाशाखा र भक्तपुर परिसरबाट खटिएको प्रहरी टोलीले थिमी नगरपालिका–६ बाट पक्राउ गरेको छ । बा.१५च ४६८४ नम्बरको कारमा हिँड्ने २८ वर्षीय आशिषको ‘लाइसेन्स धन्दा’ गजबको छ । उनी नक्कली हैन, सक्कली सवारी चालक अनुमतिपत्र बनाउँछन् तर, गलत बाटोबाट ।
खारेज भएका लाईसेन्स नम्बरमा यातायात व्यवस्था कार्यालयबाट नयाँ विवरण राखेर आशिषले लाइसेन्स बनाउने गरेको प्रहरीको पारम्भिक अनुसन्धानबाट थाहा भएको छ । ‘दर्ता खारेज भएका लाइसेन्स नम्बर दुरुपयोग गर्दै यातायात व्यवस्था कार्यालयबाट नयाँ विवरण भरेर लाइसेन्स बनाउने गरेको खुलेको छ’ महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी इन्सपेक्टर सुवास बुढाथोकीले भने–‘हामी थप अनुसन्धान गर्दैछौं ।’
यातायात कार्यालयका कर्मचारीसँग मिलेर आशिसले सो धन्दा चलाउँदै आएका थिए । त्यसरी बनाएको लाइसेन्स उनले १ लाख १५ हजार सम्म बेच्थे । इन्सपेक्टर बुढाथोकी भन्छन्– ‘ट्रक, डोजरको लाइसेन्स १ लाख १५ हजारसम्म बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।’
विदेशमा बस्नेहरुलाई उनले नेपालबाट पुराना नम्बरको सवारी चालक अनुमतिपत्रमा नयाँ विवरण भरेर पठाउँथे । जुन लाइसेन्सबाट विदेशमा बस्नेहरुले सहजै सवारी चलाउन पाउँथे । नेपालमा विवरण भेरिफाई गर्दा यायायातको रेकर्डमा सो लाइसेन्स सक्कली देखिन्थ्यो ।
फुटबलर सन्तोष साहुखल अहिले जापानमा बस्छन् । उनको सवारी चालक अनुमतिपत्र ०७२ मा नवीकरण गर्नुपर्ने थियो । नवीकरण नगर्दा उनको लाइसेन्स खारेज भयो । आशिषले साहुखलको दर्ता नम्बर राखेर यातायातबाट अर्को व्यक्तिको नाममा लाइसेन्स निकालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
विदेश बस्नेहरु, मृृत्यु भएका मान्छे र लामो समयदेखि नवीकरण नगरेर खारेज भएका लाइसेन्स नम्बरबाट नयाँ लाइसेन्स बनाउन आशिषलाई कुनै समस्या थिएन् । यायायात व्यवस्था कार्यालय एकान्तकुना, भक्तपुर र सानो भ¥याङबाट उनले त्यस्ता लाइसेन्स निकालेर बेच्थे ।
उनले बनाउने लाइसेन्समा ओर्जिनल छाप र सरकारी अधिकारीको हस्ताक्षर हुने गरेको भेटिएको छ । प्रहरीले उनको साथबाट लाइसेन्स, नागरिता र लाइसेन्स बिक्रीबापत प्राप्त चेक बरामद गरेको छ । उनलाई ठगी मुद्धा चलाउने इन्सपेक्टर बुढाथोकीले रातोपाटीलाई बताए ।