वीरगंज । बेलायत र रुसले अर्को साता देखि आफ्ना नागरिकलाई कोरोना भाइरस संक्रमण बिरुद्धको खोप दिने घोषणा गरिसकेका छन् ।चीन, अमेरिका, ब्राजिल, अस्ट्रेलिया, जर्मनी लगायतका देशहरुले पनि आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप दिने कार्य नयाँ बर्ष नलाग्दै शुरु गर्ने बताइसकेका छन् ।
तर, नेपालमा भने खोप कहिलेसम्म आईपुग्छ भन्ने अनुमान अहिलेसम्म गर्न सकिएको छैन् । यद्धपी सरकारले त्यसका लागि आवश्यक तयारी गरिरहेको बताउँदै आएको छ ।
स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोनाविरुद्धको खोप तयार हुँदा त्यसको प्रयोग गर्ने अवसर ढिला नगरी नेपालीले प्राप्त हुने हिसावले काम अघि बढी रहेको बताउँछन् । त्यसका लागि कुटनीतिक नियोग, अन्तराष्ट्रिय दातृ निकाय, कोरोना भाइरसको खोप व्यवस्थापन गर्न बनेको कोभ्याक्स फेसिलिटीज संग समन्वय गरिरहेको बताए ।
खोप व्यवस्थापनको जिम्मा पाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा भीम सिंह तिंकरीले खोप तयार भईसकेको औपचारिक घोषणा भइनसकेको र घोषणा हुनासाथ नेपालमा पनि ढिलाई नगरी त्यो खोप आउनेमा आफूहरु विस्वस्त रहेको बताए ।
‘अहिलेसम्म खोप बन्यो भनेर औपचारिक रुपमा घोषणा भइसकेको छैन् । घोषणा हुनासाथ छिटै आउँछ । त्यसका लागि हामीले आवश्यक तयारीलाई तिव्रता दिएका छौँ,’ डा तिंकरीले भने ।
‘२० प्रतिशत जनसंख्याका लागि खोप सुनिश्चित भैसक्यो’
कोरोना भाइरसविरुद्धको उत्पादित खोपको व्यवस्थित वितरणका लागि विभिन्न अन्तराष्ट्रिय गैरसरकारी संस्था, सामाजिक संस्था, परोपकारी संस्थाहरुको समन्वयमा एउटा साझा संस्था खोलिएको छ, कोभ्याक्स फेसिलिटीज । यसमा विश्वका १८० भन्दा बढी मुलुकहरु आवद्ध छन् । त्यसको एउटा सदस्य नेपाल पनि बनेको छ ।
यो संस्थाले गरीव र धनी मुलुकबीच खोप पाउने समयमा तलमाथि नहोस, अथवा धनी र गरीव मुलुकले समान ढंगले एकैपटक खोप पाउन भन्ने योजनाका साथ काम गरिरहेको छ ।
त्यसले कोरोना विरुद्धको खोप हो भनेर अन्तिम घोषणा भएको र सूचीकृत र प्रभावकारी भएका कम्पनीका पहिलो लटमा २ अर्व डोज खोप खरीदका लागि युनिसेफ मार्फत डेन्डर समेत आव्हान गरिसकेको छ ।
परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा झलक गौतम भन्छन्,’हामीले अहिले कोभ्याक्स फेसिलिटी मार्फत खोप ल्याउन आवश्यक गृहकार्य र तयारी गरिरहेका छौँ । यदि युरोप अमेरिकातिर खोप शुरु भयो भने, नेपालमा पनि छिटै नै खोप आउँछ । कोभ्याक्स फेसिलिटीजले सो काम गरिरहेको छ ।’
कोभ्याक्सले पनि हरेक देशका कुल जनसंख्याको २० प्रतिशत जनताका लागि खोप उपलव्ध गराउने भनेको छ । कोभ्याक्सले त्यसमध्ये पहिलो चरणमा अर्थात शुरुमै कुल जनसंख्याको ३ प्रतिशत खोप कोभिड -१९ विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई दिनुपर्ने मापदण्ड समेत बनाएर पठाएको डा . गौतमले बताए ।
उनले बाँकी १७ प्रतिशत खोप जोखिमयुक्त समूहका लागि प्राथमिकता तय गरी लगाउन भनेको छ । नेपाल सो समूहमा ५५ बर्ष माथिका नागरिकलाई राखेको छ ।
कोरोना विरुद्धको खोप १४ बर्ष माथिका जनताले मात्रै पाउने हुन् । अहिले बनिरहेका जतिपनि खोपहरु छन्, १४ बर्ष माथिका उमेर समूहका व्यक्तिका लागि तय गरिएका हुन् ।
डा गौतम भन्छन्, ‘नेपालमा १४ बर्ष मुनिका बालबालिकाको संख्या २८ प्रतिशत रहेको छ । तसर्थ नेपालका कुल ७२ प्रतिशत जनतालाई खोप दिने योजनामा सरकार लागेको छ । २० प्रतिशत अनुदानमा आए, थप ५२ प्रतिशत खोप खरीद गरेर ल्याउने योजनमा सरकार रहेको छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्था समेत अर्थमन्त्रालयले गरिसकेको छ ।’