वीरगंज | नेपाल सांस्कृतिक, धार्मिक र प्राकृतिक विविधताको रोचक संगमस्थल हो । नेपालको सांस्कृतिक र धार्मिक विरासत शताब्दिऔं पुरानो र विश्वमा अनुपम छ । अतिथि देवो भव संस्कार–संस्कृतिमा अभ्यस्त नेपालीहरूको जीवनस्तर उकास्न पर्यटन प्रवद्र्धन वरदान सावित हुन सक्छ । नेपाली समाजको सुमधुर संरचना विभिन्न जातजाति, धर्म, संस्कार र संस्कृतिको अनुपम समझदारी र सहकार्यमा जीवन्त रहेको छ । यहाँको चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता अन्य देशहरूका लागि उदाहरणीय र अनुकरणीय हुन सक्छन् । विभिन्न जातजाति तथा समुदायको पहिचान र परिचय उनीहरूको रहनसहन, संगीत र नृत्यमा प्रकट हुन्छ ।
कला र शिल्प, लोकगीत र वाद्यवादन, भाषा र साहित्य, दर्शन र धर्म, त्यौहार र उत्सव, खाना र पेयमा मुखरित हुन्छ । सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न मौजुदा विशिष्ट संस्कृतिको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संस्कृति र सभ्यताको धनी सुन्दर देश नेपालबारे फितलो प्रचारप्रसारका कारण पर्यटन विकासमा आशालाग्दो उपलब्धि हासिल हुन सकेको छैन । नेपालमा पर्यटन विकासका आधार एवं चर्चा र चुनौतीबारे रौंचिरा विश्लेषणका आधारमा भविष्यदर्शी नीति तथा कार्यक्रम ल्याउन सरकार र सरोकार पक्ष चुकेको महसुस हुन्छ ।
मानिसहरू पर्यटकका रूपमा ज्ञान, अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि संसारका विभिन्न ठाउँमा पुगिराखेका हुन्छन् । सूचना र सञ्चार प्रविधिको प्रचुर विकास र विस्तार भएको आजको युगमा ज्ञानको दायरा पनि फराकिलो हुँदै जानु स्वाभाविकै हो । आफ्नो देशमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिकलगायतका दुर्लभ तथ्यहरू उजागर गरी कीर्तिमान कायम राख्ने होड नै चलेको छ । विविधताले भरिपूर्ण हाम्रा प्राकृतिक सांस्कृतिक र धार्मिक संरचना पर्यटकीय गतिविधिका लागि लोभलाग्दा छन् ।
प्रकृतिलाई नजिकबाट नियालेर मज्जा लिनका लागि पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, तलाउ, विहार, स्काई डाइभिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, क्यानोनिङ, साहसिक खेल जिप वायर, जंगल सफारी, गुफाको यात्रा, हिमाली यात्रा, जंगली जनावर, गाउँबस्तीको अनुपम मौलिकता पर्यटन विकासका प्राकृतिक आधारहरू हुन् । हामीले पनि उल्लेख्य मात्रामा पर्यटक भिœयाउने रणनीतिक व्यावहारिक योजनाको खाँचो छ । खर्चको हिसाबले पनि विश्वको सस्तो देश नेपालमा मनोरञ्जन र अध्ययनका लागि आउन र रमाउन सहज रहेको विज्ञापन सन्देश प्रवाहमा कन्जुस्याइँ गरिनु हुन्न ।
वि.सं. २०६८ को जनगणनाअनुसार नेपालमा १ सय २१ जातजातिको बसोबास छ । त्यस्तै १ सय २३ भाषाहरू बोलिन्छन् । अहिले ३ करोडको हाराहारीमा जनसंख्या भएको सानो भूगोलभित्र प्राकृतिक विविधता, असंख्य जातजाति र भाषा, संस्कार तथा संस्कृतिले भरिपूर्ण भएको देश विश्वमा नेपाल मात्रै होला । यहाँको विविधता हेर्न अवलोकन गर्न मात्रै नभएर पूर्वीय दर्शन, संस्कार–संस्कृतिको अध्ययन अनुसन्धानकर्ताका लागि पनि उत्तिकै रोजाइको क्षेत्र पर्ने सम्भावना प्रचुर छ ।
हाम्रो धार्मिक, सांस्कृतिक र प्राकृतिक वैभवको दिगो संरक्षण र विकास गर्दै पर्यटक भित्र्याउन ठोस नीति र रणनीतिको खाँचो खट्किएको सर्वत्र महसुस गरिएको छ । हाम्रा पुर्खाले आर्जेको र प्रकृतिले दिएको वरदानको सदुपयोग गर्दै सम्पन्नतातिर लम्किन नेतृत्वमा दूरदर्शी सोच र दृढ इच्छाशक्ति आवश्यक छ । संसारमै ठूलो उद्योगका रूपमा स्थापित र विस्तारित हुँदै गएको पर्यटन उद्योग हाम्रोमा प्राथमिकतामा नपर्नु विडम्बना हो । सम्पन्नताको प्रचुर स्रोतसाधनयुक्त भूमिमा बसेर अरूको आस गर्नुु भनेको सुनको कचौरामा भीख माग्नुजस्तै हो ।
संघीय सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६-७७ बजेटमा विनियोजित २ अर्ब ६८ करोडले पर्यटन विकासका लागि पर्याप्त नभएको सरोकार पक्षको गुनासो छ । उच्च आर्थिक वृद्धिदर तथा उत्पादन र आयको वितरणलाई तत्काल टेवा पु-याउने प्रतिस्पर्धी क्षेत्रका रूपमा अथाह सम्भावना बोकेको पर्यटनको विकास र विस्तारमा पर्याप्त ध्यान नपुगेको देखिन्छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य कोरोनाले तहसनहस पारिदियो ।
‘बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने नेपाली भनाइ पर्यटन विकासका सरोेकार निकायले आत्मसात् गरेको पाइँदैन । नेपाल आउने पर्यटक संख्याअनुसार भाषा र शैलीमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमार्फत प्रचारप्रसार गर्नेतर्फ खासै ठोस योजना देखिँदैन । नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्व बजारमा स्थापित गराउने खालका आक्रामक प्रचारप्रसार कार्यक्रहरूको खाँचो खट्किएको देखिन्छ । पर्यटकीय स्थलहरूको प्रचारप्रसार, पहिचान भएका गन्तव्यहरूको पूर्वाधार निर्माणमा तीव्रता र थप नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास र प्रवद्र्धनका लागि प्राथमिकता दिइनुपर्ने देखिन्छ । ऐतिहासिक पर्यटकीय स्थल गढी, किल्ला, दरबार आदिको महŒवको प्रचार गर्दै संरक्षण र सहज पहुँचका लागि आवश्यक व्यवस्था गरिनुपर्छ ।
पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन, जलयात्रा पर्यटन, पर्यापर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटनजस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा जोड दिइनुपर्छ । बाह्यका साथसाथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै पर्यटन विकासको पूर्वाधारका रूपमा लिइने बाटो, बासस्थानअन्तर्गत होटल, होमस्टे र सुरक्षित वातावरणको सुनिश्चितताले मात्रै दिगो पर्यटन विकासमा टेवा पुग्ने वास्तविकता हो । नेपालको परम्परा, लोपोन्मुख भाषा, कला र संस्कृति, रीतिरिवाज आदिको संरक्षणका लागि एक राष्ट्रिय तथा सबै प्रदेशमा प्रदेशस्तरीय सांस्कृतिक संग्रहालयको स्थापना दिगो पर्यटन विकासका लागि सकारात्मक पहल ठहरिनेछ ।
कमजोर आर्थिक स्थिति भएको नेपालले आधुनिक वैभवपूर्ण संरचना निर्माण गरेर पर्यटक आकर्षण गर्ने आधार नभए तापनि प्राकृतिक मनोरम दृश्य तथा धार्मिक सांस्कृतिक संरचना र संस्कारले पर्यटन व्यवसाय फस्टाउन प्रचुर मद्दत पुग्ने जगजाहेर छ । हामीे प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदा र सभ्यताको धनी भएर पनि सदुपयोग गर्न नसक्नु भनेको माल पाएर चाल नपाएको टीठलाग्दो अवस्था हो । नेपाली पोसाक, जातजाति, धर्म, पाहुना सत्कार, धार्मिक संस्कारमा विविधता, सांस्कृतिक धार्मिक सम्पदामा प्रचुरता आदि पर्यटकीय आकर्षणका क्षेत्र हुन ।
युनेस्कोबाट विश्व सम्पदा सूचीमा सूचीकृत धरोहर स्तूप, मन्दिर, गुम्बा, विहार, दरबारहरूको संरक्षण र संवद्र्धनमा समेत तदारूकता नदेखिनु दुखद हो । कुनै बेला मन्दिरैमन्दिरको सहर भनेर चिनिएको काठमाडौं उपत्यका घरहरूको अस्तव्यस्त कङ्क्रिड जंगलको छायामा परेको छ । भूकम्पबाट प्रभावित उपत्यकाभित्रका काठमाण्डू दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूनाथ, पशुपति नाथ, बौद्धनाथ, चाँगुनारायण मन्दिरको जीर्णोद्धारमा उदासीनताको कारणले पनि सांस्कृतिक धार्मिक पर्यटनमा धक्का लागेको छ । उपत्यकाबाहिर बराह क्षेत्र, हलेसी, कालिन्चोक भगवती, पाथिभरा भगवती, दोलखा भीमसेन, शैलुङ, मनकामनना, गोरखा दरबार, जनकपुर, लुम्बिनी, मुक्तिनाथ, गोसाइँकुण्ड, स्वर्गद्वारी, खप्तड आश्रम, विन्धवासिनी, वराह पोखरा, फेवाताललगायतका ताल आदि असंख्य धार्मिक सांस्कृतिक प्राकृतिक स्थलको प्रचारप्रसार र पर्यटकमैत्री वातावरणको अभावले पर्याप्त पर्यटक भित्र्याउन सकिएको छैन ।