वीरगंज। पूर्वी र मध्ये तराईका केही क्षेत्रमा अहिले हुस्सु र कुहिरो लागेको छ । पश्चिम तराईमा हुस्सु र कुहिरोको सम्भावना नरहे पनि तराइका केही जिल्लामा आज बिहानैबाट हुस्सु र कुहिरो लागेको छ ।मध्यान्ह सम्ममा भने हटेर जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“कुहिरो लागेको स्थानहरुमा राम्रोसँग घाम नलाग्ने भएकोले चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन र यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध छ,” विभागले जनाएको छ ।
पश्चिमतराईका कन्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम), मध्ये तराईका चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा तथा पूर्वी तराईका सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापामा कुहिरो र हुस्सुका कारण चिसो हुने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
तराईका जिल्लामा चिसो बढेपछि स्थानीय चोकचोकमा दाउरा बालेर ताप्ने गरेका छन् । यसका लागि स्थानीय प्रशासनले निःशुल्क दाउरा उपलब्ध गराउने गरेको छ ।
यसैबीच, आज तराईका जिल्लामा कुहिरोबाहेक आज देशभरको मौसम सफा रहने भएको छ । “काठमाडौं उपत्यकाको आज विहानको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो । दिउँसोको तापक्रम २१–२३ डिग्री सेल्सियस पुग्ने छ,” मौसमविद् राजु प्रधानाङ्ग भन्छन्, “आज देशभर कतै पनि हिमपात र वर्षाको सम्भावना छैन ।”