मुम्बई । रिलिजको तयारीमा रहेको अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘बेल बटम’ एकाएक चर्चामा तानिएको छ । चलचित्रका कास्टिंग निर्देशक आयुष तिवारी र उनका रुममेट विरुद्ध बलात्कारको मुद्दा दर्ता भएसँगै ‘बेल बटम’को चर्चा भएको हो ।
निर्देशक आयुष र उनका रुम पार्टनर राकेश शर्माविरुद्ध एक अभिनेत्रीले बलात्कारको आरोप लगाएकी हुन् । उनीहरु विरुद्ध वर्सोवा प्रहरी वृत्तमा २५ नोभेम्बरमा मुद्दा दर्ता भएको थियो ।
आयुषले विवाह गर्ने झुटो आश्वासन दिएर पछिल्लो दुई वर्षदेखि यौनजन्य कार्य गरिरहेको र यसबारेमा आरोपितका साथी राकेशलाई गुनासो पोख्दा उनले पनि त्यही कार्य गरेको पीडितको आरोप छ ।
वर्सोवा प्रहरीले धारा ३७६ अन्तर्गत मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान जारी राखेको छ । पीडितले (अभिनेत्रीले) थुप्रै वेब सिरिजमा काम गरिसकेको जानकारी सार्वजनिक भएपनि अभिनेत्रीको नाम भने गोप्य राखिएको छ । यस चलचित्रमा अक्षय कुमार एक जासुसको भूमिका निभाउँदै छन् । महामारीकै बिच छायांकन सुरु गर्ने पहिलो बलिउड चलचित्र बनेको यस चलचित्रमा अक्षयका साथै वाणी कपुर पनि मुख्य भूमिका छिन् ।
नवाभारत टाइम्स