पर्सा। जयराम यादव । पर्सामा दुईजना बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा दुईजना युवा पक्राउ परेका छन्। पर्साको छुटाछुट्टै ठाउँबाट दुबैजना पक्राउ परेका हुन्। प्रदेश २ को महोत्तरी जिल्लाको बालिका अपहरण,बलात्कार र हत्याको घटनाको चर्चा मै रहेको बेला पर्साको ग्रामिण भेगमा दुई वटा करणीको घटना सार्वजनिक भएको छ।
पर्साको सखुवाप्रसौनीको १ जना र विन्दवासिनी गाउपलिकाको १ जना गरी दुईजना युवाहरु जबर्जस्ति करणीको आरोपमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका इन्स्पेक्टर कुशल बर्तौलाका अनुसार , गत शुक्रबार सखुवा प्रसौनी वडा नम्बर २ का सुवास महतो थारुकी ४ वर्षीय छोरीलाई करणी गरेको आरोपमा स्थानीय देश शंकर चौधरीलाई नियन्त्रणमा लिइएको छ।
नातामा काका पर्ने १९ वर्षीय देश शंकरले शुक्रबार बिहान १० बजे खेलिरहेकी बालिकालाई नरिवल दिने प्रलोभन देखाई आफ्नै घरमा लागि करणी गरेको पिडित बालिकाका वुवा सुवास महतोले घामछायाँलाई फोन सम्पर्कमा बताउनु भयो।
त्यसैगरी पर्साकी विन्दवासिनी गाउपालिकाको वडा नम्बर ४ को अमरपट्टिमा पनि ६ वर्षीय बालिकालाई करणी गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार मङ्सिर ३ गते नै घटना भएको हो। प्रहरीमा उजुरी आए लगतै आरोपी स्थानीय २९ वर्षका उमेश ठाकुरलाई पक्राउ गरिएको छ।
आरोपी दुबैमाथि जबरजस्ती करणी मुद्धा दर्ता भईसकेको इस्पेक्टर बर्तौलाले बताउनु भयो। दुवै बालिकाहरुको स्वास्थ्य परिक्षण भईसकेको र परिवाजनको जिम्मा लगाइएको बर्तौलाले बताउनु भयो।
दुबैबालिकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
चालु आर्थिक २०७७/७८ को मङ्सिर मसान्त सम्ममा जवर्जस्ती करणिका १५ वटा ,करणी उद्धोगका ३ वटा र बाल यौन दुर्व्यवहारको ४ वटा मुद्धा दर्ता भएको जिल्ला बर्तौलाले घामछायाँलाइ बताउनु भयो।