वीरगंज | करिब ८ सय युवाहरुकाे अनधिकृत अन्तर्वार्ता लिइरहेकाे अवस्थामा वैदेशिक राेजगार विभागले दुई ठूला म्यानपावर कम्पनीमा छापा मारेको छ।
करिब ८ सय युवाहरुलाई कतार राेजगारीका लागि भन्दै अन्तर्वार्ता लिएको सूचनाका आधारमा सोमबार डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर सर्भिसमा विभागले छापा मारेको हाे।
एसओएस म्यानपावरले करिब ४ सय जना जना युवाहरुलाई अन्तर्वार्ताका लागि तयारी अवस्थामा राखेको विभागकाे अनुगमन टाेलीले फेला पारेको थियाे। यस्तै गरी डीडी ह्युमन रिसोर्सले पनि करिब ४ सय युवाहरुकै अन्तर्वार्ता लिइरहेको भेटिएको विभागले जनाएको छ।
पूर्वस्वीकृति नै नलिएकाे डिमाण्ड देखाएर अन्तर्वार्ता लिएको भन्दै विभागले छापा मारी अन्तर्वार्तामा राेक लगाई कागजात समेत जफत गरेकाे छ। यसमा थप आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने विभागले जनाएको छ।