वीरगंज। पर्सामा कोरोना लागेका थप एक संक्रमितको मंगलबार मृत्यु भएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।पर्साको वीरगन्ज महानगरपालिका १५, भिष्वाडाँडाकी ६५ वर्षीया महिलाको मृत्यु भएको निर्देशनालयले प्रेस विज्ञप्तिमार्फत जनाएको हो । योसँगै प्रदेश २ मा कोरोना लागेर मृत्यु हुनेको संख्या एक सय ८४ पुगेको छ ।
कोरोना लागेर मृत्यु भएकामा पर्सामा सबैभन्दा बढी ५१ जना पुगेका छन् । सप्तरीमा ३१, सिरहामा २३, बारामा १९, धनुषामा १९, महोत्तरीमा १७, सर्लाहीमा १३ र रौतहटमा १० जना तथा एक भारतीयको मृत्यु भएको निर्देशनालयको तथ्यांक छ ।
मंगलबार प्रदेशका विभिन्न जिल्लामा १६ जना कोरोना संक्रमित थपिएका छन् भने ३१ जना कोरोनामुक्त भएका छन् । धनुषामा आठ, महोत्तरीमा तीन, सर्लाहीमा एक, बारामा एक, पर्सामा दुई र रौतहटमा दुईजना संक्रमित थपिएका हुन् ।
अहिलेसम्म प्रदेश २ मा १६ हजार तीन सय ५१ जना संक्रमित भएकामा एक सय ८४ जनाको मृत्यु भएको छ भने १५ हजार तीन सय २५ जना कोरोनामुक्त भइसकेका छन् । मंगलबार यो प्रदेशमा ८४२ जना सक्रिय संक्रमित छन् ।