वीरगन्ज | वीरगन्जस्थित नेपाल-भारत सीमा नाकाबाट प्रहरीले करिब ५ केजी लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ ।वीरगन्ज रक्सौल नाकास्थित मितेरी पुल नजिकैबाट सोमबार प्रहरीले वीरगन्जका २ युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छप्कैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का २३ वर्षीय धिरज पटेल छन् ।
सुराकीको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान नाकामा पैदल यात्रुको चेकजाँचका क्रममा श्रीवास्तवको साथबाट २ किलो ४४५ ग्राम र पटेलको साथबाट चरेश २ किलो ४४५ ग्राम चरेस बरामद गरेको हो ।
वीरगन्जबाट चरेस लिएर भारत रक्सौल जाँदै गरेको अवस्थामा दुबै जनालाई नाकाबाट पक्राउ गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । पक्राउ परेका दुबै युवकलाई वडा प्रहरी कार्यालय विर्तामा राखेर थप अनुसन्धान भइरहेको उनले बताइन् ।