नेपाल संवतकाे नयाँ वर्ष शुरू हुने दिन नै नेवारहरूको म्हः पूजा गर्ने भएकाले धेरैजसोलाई यो नेवारको संवत् भन्ने भ्रम छ। तर, नेपाल संवत् शुरू भएको कार्तिक ३० गते ११४० वर्ष पूरा हुन्छ भने नेवाः समुदायले म्हः पूजा गर्न शुरू गरेको ११९० वर्ष भइसकेको छ। म्हः पूजा शुरू गरिँदा यहाँ लिच्छवी राजा जयदेव द्वितीयले शासन गरेका थिए। पश्चिम भारतबाट आएका लिच्छवीले यहाँ शासन गरेपछि आफ्नै लिच्छवी संवत् चलाएका थिए। नेपाल संवत जस्तै लिच्छवी संवत् पनि चन्द्रमानको आधारमा थियो। चन्द्रमान अनुसार असोज शुक्ल प्रतिपदा एवं कछलागा प्रतिपदाका दिन नेपाल संवतकाे नयाँ वर्ष शुरू हुन्छ। यहाँ नेपाल संवत् शुरू हुँदा लिच्छवी संवत् ८०२ रहेको इतिहासविद् बताउँछन्।
नेपाल संवतकाे ऐतिहासिक पृष्ठभूमि
नेपाली इतिहासको लिच्छवी कालको सामन्ती युग जर्जर अवस्थामा रहेका बेला नेपाल संवतकाे प्रादुर्भाव भएको थियो। त्यसबेला देशका धेरै मानिसको आर्थिक स्थिति राम्रो थिएन। धेरैजसो जनता ऋणमा डुबेका थिए । ज्यापु पञ्चः नेपाल संवत् र शंखधर साख्वा, केही विवेचना विषयक एक लेखका अनुसार सामन्ती शोषणका कारण त्यसबेला राज्यमा विद्रोहको स्थिति थियो।
नेपाल संवतकाे इतिहासकार हरिराम जोशी भन्छन्– ‘लिच्छवीहरूको शक्ति शिथिल भएका बेला शंखधर नामका एक साहुले देशको विकट स्थितिमाथि काबु गरी देशलाई स्थायित्व प्रदान गरेका थिए।’ शंखधर नेपाल संवतका प्रवर्तक हुन्। नेपालमा संवत् फेर्न मुलुकका सबै ऋणीको ऋण तिरिदिनुपर्ने प्रचलन पहिलेदेखि नै थियो। यसै मान्यताअनुरूप शंखधरले ऋणीहरूको ऋण तिरी नेपाल संवत् चलाएका थिए। यसबाट के स्पष्ट हुन्छ भने उत्तर लिच्छवी कालमा मानिसको आर्थिक स्थिति राम्रो थिएन। यसै पृष्ठभूमिमा ऋणबाट थिचिएका आमजनतालाई ऋणबाट मुक्ति दिलाउन शंखधर शाख्वाले नेपाल संवत् चलाएको देखिन्छ।
नेपालको मौलिक संवत्
नेपाल संवत् शंखधरले राजा राघवदेव र आनन्ददेवको पालामा यो संवत् चलाए पनि यसको नाम नेपाल संवत् रहेकाले यो हाम्रो स्वाभिमानको प्रतीक हो। यसलाई कदर गर्दै नेपाल संवत् ११२८ अर्थात् वि.सं २०६५ सालमा सरकारले यस नेपाल संवतलाई राष्ट्रिय संवत् घोषणा गरेको छ।
व्यावहारिक संवत्
अधिकांश नेपालीको जन्मदेखि मृत्युसम्मका सबैजसो कर्मकाण्ड नेपाल संवतकै तिथिबाट गरिन्छ भन्ने कुरामा विवाद छैन। दशैं, तिहार, छठ, जनैपूर्णिमा, बुद्ध पूर्णिमा, रामनवमी, कृष्णाष्टमी, तीजलगायत अधिकांश चाडपर्व नेपाल संवतकाे चन्द्रमास पात्रो अनुसार मनाइन्छ। अधिकांश सरकारी बिदा पनि नेपाल संवतकै गणना अनुसार दिइन्छ। हाम्रा चाडपर्व रीतिरिवाज नेपाल संवत अनुसार नै व्यवहारमा प्रयोग गरिँदै आए तापनि यसलाई नेवारको मात्र संवत् भनेर आफैंलाई जिस्काइरहेको कटु यथार्थ हो।
नेपाल संवतकाे ११४० वर्षको इतिहासमा ९ सय वर्षसम्म नेपाल संवतलाई राष्ट्रिय संवतकाे रूपमा प्रयोग गरिएको थियो । विसं १९६० मा चन्द्रशमशेरले जागिरदारलाई तलब दिन अप्ठ्यारो र दिनगन्ती असजिलो भयो भनी नेपाल संवतलाई हटाएका थिए। यद्यपि, हालसम्म जनतामाझ यो संवत् प्रचलनमा छ। नेपाल संवत् नेवारको संवत् मात्र भनेर भ्रम छरिरहँदा भक्तपुरको प्रमुख जात्राको रूपमा रहेकोे बिस्केट जात्रा विक्रम संवत अनुसार प्रत्येक वैशाख १ गते मनाइन्छ। घिउचाकु संक्रान्ति, नवदुर्गा जात्रा विक्रम संवत् अनुसार मनाइन्छ। नेवारहरूले नेपाल संवतलाई चाडपर्व र संस्कारको प्रमुख संवतका रूपमा मनाउँदै विक्रम संवतलाई पनि अँगाल्दै आउँदा सरकारले भने यसलाई व्यवहारमा प्रयोग गर्न कञ्जुस्याइँ गर्दै आएको छ।