वीरगञ्ज । पर्सा, बारा, रौतहट र मकवानपुरका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा पर्सा र बाराका विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ५३ जनाको थोर्ट स्वाबको नमुनालाई परिक्षण गर्दा दुई महिलासहित दश जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् ।
पर्सामा जम्मा गरिएको ४२ वटा स्वाबलाई परिक्षण गर्दा वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १० मा दुई जना र वडा नम्बर २, ४, ८, १५ र १६ मा एक/एक जनामा गरी ७ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी बारा जिल्लाको ११ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा एक जना जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ निवासीमा पनि संक्रमण देखिएको छ ।
उता रौतहटको माधवनारायण नगरपालिकाका एक र मकवानपुरको हेटौडा उपमहानगरपालिकाका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताए ।
थपिएका संक्रमितहरु २० वर्षदेखि ५२ वर्ष उमेर समुहसम्मका रहेको छ भने उनीहरुको सिटि भ्यालु २१ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए ।