वीरगञ्ज । वीरगञ्ज महानगरपालिका भित्रका निजी विद्यालयहरुले गत बैशाखदेखि भदौसम्मको शुल्क नलिने निर्णय गरेका छन् ।प्याब्सन पर्साका अध्यक्ष डाक्टर हरिशंकर साहको अध्यक्षतामा मंगलबार बसेको प्याब्सन पर्साको बैठकले यस्तो निर्णय गरेको प्याब्सन वीरगञ्ज महानगर कमिटिका अध्यक्ष आलोक कुमार चौरसियाले जानकारी दिए ।
शिक्षा मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ मा उल्लेख भए अनुसार १ सय ५४ दिनमा ७० प्रतिशत पाठ्यक्रम पूरा गर्ने र शुल्क पनि लिन पाउने भनिएको भएपनि कोरोनाकालमा अभिभावकलाई परेको आर्थिक मारलाई मध्यनजर गर्दै पाँच महिनाको शूल्क नलिने निर्णय भएको उनले बताए ।
बैशाखदेखि भदौसम्म भौतिक र अनलाइन कुनै पनि माध्यमबाट कक्षा सञ्चालन नगरेका विद्यालयले असोजदेखि मात्र शुल्न लिन पाउने गरी निर्णय गरिएको उनले जानकारी दिए । तर अनलाईन कक्षा सञ्चालन गरेका विद्यालयहरुको हकमा भने अभिभावकहरुसँगको सहमतिमा असोज अगाडिको पनि शुल्क लिन पाउने गरी निर्णय गरिएको प्याब्सन पर्साका सचिव छेडुप लामाले बताए ।प्याब्सन पर्साको बैठकबाट पारित भएको निर्णय स्वीकृतिका लागी बुधबार वीरगञ्ज महानगरपालिकामा पनि पेश गरिएको लामाले जानकारी दिए ।
शुल्क मिनाह गर्न पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले खलेको भूमिका सराहनीय रहेको लामाले बताए । ‘उहाँहरुले गरेको पहल र अग्रसरताका कारण आज सबै प्याब्सनसँग आबद्ध विद्यालयहरुले भदौँसम्मको शुल्क नलिने निर्णय गरेका छन्,’ लामाले भने, ‘विद्यालयहरुका अन्य संगठनले पनि कोरोनाको असरलाई बुझेर यसै निर्णयलाई पन्छ्याउने हामीले आसा गरेका छौं ।’
वीरगञ्ज महानगरपालिका शैक्षिक महाशाखाका प्रमुख अर्विन्दलाल कर्णले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अनलाईनबाट भइरहेको कक्षामा अँझै पनि दिविदा रहेको र यस विषयमा नेपाल सरकारको निर्णय नै अन्तिम निर्णय हुने प्रतिक्रिया दिए ।