वीरगञ्ज । बाराको पथलैयादेखि वीरगञ्जको आईसीपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनीलाई रू. १ करोड ६८ लाख जरीवाना गरेको व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाले बताएको छ । ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालमा निर्माण थालिएको वीरगञ्ज पथलैया २६ किलोमिटर सो सडक खण्डको निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगरेकाले ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई कारबाही स्वरूप उक्त रकम जरीवाना गरिएको कार्यालयका सूचना अधिकारी तथा इन्जिनीयर विवेक झाले बताए ।
पथलैया वीरगञ्ज व्यापारिक मार्ग नामकरण गरी २ वर्षमा सम्पन्न गर्नेगरी निर्माण थालिएको थियो । संघीय सरकारको साढे ५ अर्बको लगानीमा सो सडक खण्डको ठेक्का लिएका युनाइटेड बिल्डर्सले भुक्तानीसमेत लिएर समयमा काम नगरेकाले कारबाही गरिएको हो । ठेक्का सम्झौता भई समयमा निर्माण सम्पन्न नभएपछि चार–चार पटक पुनः म्याद थपिए पनि तोकिएको समयमा काम सम्पन्न नगरेकाले बाध्य भएर सरकारले कारबाही प्रक्रिया अघि बढाइएको अर्का इन्जिनीयर सम्पतलाल दासले बताए । उक्त व्यापारिक मार्ग ४ वर्षअघि नै सम्पन्न हुनुपर्नेमा हालसम्म सम्पन्न हुन नसक्दा वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरका उद्योगी व्यवसायी प्रभावित हँुदै आएका छन् ।
यस्तै वीरगञ्ज पथलैया सडक खण्डको परवानीपुरसम्म सडक बनाउने ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले ठेक्का नम्बर १ अन्तर्गतको काम सम्पन्न नगरी अटेर गरेकाले कारबाही प्रक्रिया अघि बढाइएको सो कार्यालयले बताएको छ । कारबाही प्रक्रिया रोक्न पप्पुले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा हालेको बताइएको छ ।
उक्त सडक निर्माणको ठेक्का पाएका अन्य ठेकेदार कम्पनीमध्ये केहीले बाटोमा खाल्डाखुल्डी बनाएर अलपत्र छाडेपछि सो सडकमा मालवाहक गाडीलाई आवतजावतमा कठिनाइ हुनुका साथै धूलो उड्दा यात्रुले सास्ती पाएका छन् । समग्रमा सो व्यापारिक मार्गको निर्माण ६५ प्रतिशत सम्पन्न भए पनि बाँकी काम असार मसान्तसम्ममा पूरा नगरे ठेक्का पाएका अन्य ठेकेदार कम्पनीलाई कालोसूचीमा राखी कारबाही प्रक्रिया अगाडि बढाइने योजना प्रमुख मनीषकुमार साहले बतए । बढ्दो सवारी चापलाई ध्यानमा राख्दै उक्त दुई सडक विस्तार गरी ६ लेनको बनाउन थालिएको छ । रासस