वीरगंज | लामो समयदेखि समस्यामा रहेको नेपाल–भारत सम्बन्ध अब सुधार तर्फ जाने संकेत देखिएको छ । लामो समययता नेपाल र भारतबीच कुनै उच्चस्तरीय वार्ता वा भ्रमण हुन सकेको छैन ।
तर, अब भारतीय विदेश सचिव हर्ष वर्धन श्रृगंला २६ नोभेम्बरमा नेपाल आउने भएका छन् । उनी दुई देशबीच सचिवस्तरीय वार्ताका लागि नेपाल आउन लागेका हुन् ।
उनको यो भ्रमणले भारत र नेपालबीच चिसिएको सम्बन्धमा सुधार आउन सक्ने अनुमान गरिएको छ ।
केही दिनअघि मात्र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभाने नेपाल आएर फर्किएका थिए । त्यो भ्रमणमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गरेका थिए । उनी फर्किएलगत्तै नेपालमा त्यहाँका सचिव आउनुले विशेष सम्बन्ध राख्ने बताइएको छ ।
उनको दुई दिने भ्रमणमा उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि भेट्ने भएका छन् ।
उनको यो भ्रमणमा पछिल्लो समय नेपाल र भारतबीच देखिएको सीमा विवादबारे पनि छलफल हुनसक्ने अपेक्षा गरिएको छ ।