पर्सा । चालू आर्थिक बर्षको पहिलो तीन महिनाको अवधिमा वीरगञ्ज नाका भएर नेपालबाट भटमासको प्रशोधित तेलको निर्यात साढे चार गुणाले बढेको छ।
गत आर्थिक बर्षको तुलानामा चालु आर्थिक वर्ष २०७७-७८ मा श्रावण भदौ र असोज गरि तीन महिनामा भटमासको प्रसोधित तेलको निर्यात साढे चार गुणाले बढेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
तीन महिनाको अवधिमा ७२ हजार ८ सय ६२ मेट्रिक टन भटमासको प्रशोधित तेल वीरगञ्ज नाका भएर निर्यात भएको छ ।गत बर्षको सोही अवधिमा भने १४ हजार ९ सय २४ मेट्रिक टन प्रशोधित भटमासको तेल वीरगञ्ज नाका भएर निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
चालु आर्थिक बर्षको पहिलो तीन महिनाको अवधिमा कुल १० अर्ब ११ करोड ८ लाख ९३ हजारको भटमासको प्रशोधित तेल वीरगञ्ज भन्सार नाका भएर निर्यात भएको छ। यस्तै गत आर्थिक वर्षको सोही अवधिमा भने १ अर्ब ८७ करोड ५१ लाख ४५ हजार बराबरको भटमासको प्रोधित तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।
भटमासको प्रशोधित तेलको निर्यात सँगै भटमासको कच्चा पदार्थको आयातमा पनि यस वर्ष बृद्धि भएको छ ।चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु ११ अर्ब ३६ करोड ११ लाख ३७ हजार बराबरको भटमासको कच्चा पदार्थ वीरगञ्ज नाका भएर आयात भएको छ।
सोही अवधिमा गत अर्थिक बर्षमा भने ५ अर्ब ४४ करोड ९५ लाख ४० हजारको भटमासको कच्चा पदार्थ आयात भएको थियो ।नेपालबाट निर्यात हुने मुख्य बस्तुहरुमा भटमासको प्रशोधित तेल यो वर्ष पहिलो स्थानमा परेको छ।
वीरगञ्ज पथलैया औधोगिक कोरिडोर अन्तर्गत पर्सा बारामा एक दर्जन तेल उद्योग छन्। उनीहरु मध्ये अधिकाँशले भटमासको प्रशोधित तेल भारत निकासी गर्ने गरेका छन्।
वीरगञ्ज नाका भएर चालु आर्थिक बर्षको तीन महिनामा मुख्यत भटमासको प्रसोधित तेलसँगै,जुस जाम,च्यवनप्राश,जमोठ कपडा,दन्त मन्जन,उनी गलैचा,सेन्थेटिक यार्न,अन्य रेसाको कपडा,स्पार्ट सुज (सेन्थेटिक सुज),पिना लगायतका बसतुहरु निर्यात भएका छन्।