तीन दिनको अनिश्चिततापछि अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेन निर्वाचित हुने प्रक्षेपण गरिएको छ। अमेरिकी मिडियाहरुले मतगणना अन्तिम चरणमा पुग्दै गर्दा बाइडेन विजयी हुने भन्दै ‘प्रेसिडेन्ट इलेक्ट’ बाइडेनका रुपमा सम्बोधन गर्न थालेका छन्।
४६ औं अमेरिकी राष्ट्रपतिको रुपमा ह्वाइट हाउसमा जनवरी २१ मा वाइडेन प्रवेश गर्दै गर्दा विश्व राजनीतिमा कस्तो प्रभाव पर्ला?
सबैको चासो रहँदै आएको छ।
चिनियाँ प्रणालीलाई चुनौती
जो बाइडेनको जितले चिनियाँ प्रणालीमा अर्को चुनौती थपिएको जो सुडवर्थले बेइजिङबाट लेखेका छन्।
तपाईँलाई लाग्नसक्छ बेइजिङ डोनाल्ड ट्रम्पको पराजय हेर्न चाहन्छ। चीनलाई प्रहार गर्ने प्रमुखका रुपमा उनले चीनसँग ट्रेड वार, कोरोना भाइरस पान्डेमिकको विषयलाई लिएर सँधै प्रहार गरिरहे।
तर, विश्लेषकहरुले भने चिनियाँ नेतृत्व अहिले निराश भएको बताउँन थालेका छन्। तिनीहरु ट्रम्पको पराजयमा भन्दा पनि अर्को चार वर्ष चीन अमेरिका सम्बन्धमा कस्तो असर पर्ला भन्ने सोच्न थालेका छन्। ट्रम्पकै निरन्तरताले अमेरिकी शक्ति कम हुँदै जाने विश्वास उनीहरुको थियो।
चीन यतिबेला बाइडेनको साझेदारीको इच्छामा अवसर भने खोज्ने छ। विश्वका लागि महत्त्वपूर्ण मुद्दाहरु जस्तै जलवायु परिवर्तन लगायतमा साझेदारीको हात बढाउने छ। तर पनि बाइडेनले अमेरिकाका साझेदारहरुसँगको सम्बन्ध सुधारमा काम गर्ने बताइसकेका छन्। यसले चीनसँग सामुहिक रुपमा प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने बाइडेनको बुझाई छ। ट्रम्प अहिलेसम्म एक्लै हिँडिरहेका थिए।
बाइडेनको विजयले चिनियाँ प्रणालीमा अर्को चुनौती थप्ने विश्लेषण गरिएको छ। यद्यपि, बाइडेनको जितले तनावपूर्ण रहेको अमेरिका चीन सम्बन्धमा केही सास फेर्नसक्ने ठाउँ दिने विश्वास गरिएको छ। तर, सम्बन्ध थप बिग्रिन सक्नेसमेत सम्भावना उत्तिकै रहेको उल्लेख छ। बेइजिङको रनमिन विश्वविद्यालयका स्कुल अफ इन्टरनेशनल स्टडिजका एसोसिएट डिन जिन कानरोङले चीन को सरकारी मुखपत्र ग्लोबल टाइम्ससँग भनेका छन् – ‘बाइडेनको सुरुवाती चीन अमेरिकाको सम्बन्धको बफर समयमा भएको छ। सम्बन्ध थप खराब हुन सक्छ। तर यति छिट्टो चाहिँ होइन।
उदाश भारत
कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित हुँदा भारतीय चेलीको विजयी भएको विश्लेषण भारतीय मिडियाहरुमा भइरहेको छ। यद्पि, भारतीय प्रधानमन्त्री मोदीलाई ट्रम्पलाई भन्दा बाइडेनलाई स्वागत गर्न धेरै उदासी देखिनेछन्।
भारत अमेरिकाको महत्त्वपूर्ण साझेदारको रुपमा रहँदै आएको छ। बाइडेनको राष्ट्रपति कालमा दुई देशको साझेदारीको यात्रामा कुनै उल्लेख्य परिवर्तन भने आउने छैन। दक्षिण एसियाको अधिक जनसंख्या रहेको देश भारत अमेरिकाको चीनको उदयलाई रोक्ने अस्त्र इन्डो प्यासिफिक रणनीतिको महत्त्वपूर्ण साझेदारको रुपमा रहने नै छ। ट्रम्प र मोदीको व्यक्तिगत सम्बन्ध थियो। बाइडेन र मोदीको केमेस्ट्रीले दुई देशबीचको सम्बन्धलाई नकारात्मक रुपमा अगाडि बढ्नसक्ने छ। ट्रम्पले मोदीको मुसलमानप्रतिको विवादास्पद आन्तरिक नीतिप्रति नजरअन्दाज गरेका थिए।
बाइडेन यसको विपरीत यस्तो विषयमा बोल्ने छन्। बाइडेनको क्याम्पियनको वेबसाइटमा कास्मिरका हरेक नागरिकको अधिकार पुन:स्थपान गर्ने उल्लेख गरेका छन्। साथै बाइडेन नेशनल रजिस्टर अफ सिटिजन (एनआरसी) र सिटिजनसीप अमेन्डमेन्ट एक्ट (सीएए)को आलोचक समेत हुन्।
कमला ह्यारिस आफैमा भारतीय मुलुको भए पनि भारतको हिन्दुवादी राष्ट्रिय सरकारको नीतिप्रति आलोचक हुन्।
कस्मिर मामिलामा ह्यारिसले कस्मिरीहरु एक्लो नभएको प्रतिक्रिया दिएकी थिइन्। २०१९ मै उनले भनेकी थिइन्, ‘हामीले स्मरण गर्नुपर्छ कि कस्मिरीहरु एक्ला छैनन्। हामीले त्यहाँको अवस्था बारेमा नियालिरहेका छौँ। त्यहाँ अवस्थाले माग्यो भने हस्तक्षेप पनि आवश्यक हुन सक्छ।’
बाइडेन आफैले पनि कस्मिरमा अधिकार पुन:स्थापित हुनुपर्ने बताएका थिए। उनले त्यतिबेलै भारतीय सरकारले कस्मिरीहरुको अधिकार पुन:स्थापति गर्नका लागि आवश्यक कदम चाल्नुपर्ने बताएका थिए।
बाइडेनको विजयसँगै वासिङटन पोस्टकी ग्लोबल अपनियन राइटर राना अयुवले ट्वीटरमा जो बाइडेनले कस्मिरमा जनताको अधिकार पुन:स्थापनाको माग गरेको भन्दै अब उनले के गर्छन भन्ने हेर्न बाँकी रहेको उल्लेख गरेकी छिन्।
बेखुश उत्तर कोरिया
बाइडेनको जितलाई लिएर उत्तर कोरिया पनि त्यति खुशी छैन। कुनै बेला उत्तर कोरियाका नेता किम जोङ उनले बाइडेनलाई पागल कुकुरको संज्ञा दिएका थिए।
२०१९ को नोभेम्बरमा किमले निर्वाचनमा होमिएका बाइडेनलाई हराउनुपर्ने प्रतिक्रिया दिएका थिए। त्यतिबेला त्यहाँको सरकारी समाचार एजेन्सी केसीएनएले बाइडेनको समय सकिएको बताएका थियो।
त्यतिबेला बाइडेनले उत्तर कोरियाप्रति कडा अभिव्यक्ति दिँदै ट्रम्पले तानाशाहसँग हात मिलाएको भन्दै आलोचना गरेका थिए। केसीएनएले त्यतिबेला बाइडेनमा पागलपनको पहिलो चरणमा रहेको र उनको समय सकिएको र जीवनबाट टाढिनुपर्ने उल्लेख गरेको थियो।
‘यस्तो मान्छेले अझै सर्वोच्च नेतृत्वमाथि अपमान गरिरहेको छ,’ केसीएनएले भनेको थियो, ‘यो पागल कुकुरले आफ्नो मृत्युलाई बोलाउँदै अन्तिम पटक भुकिरहेको छ। बाइडेन जस्ता पागल कुकुरहरुलाई खुला छाडे अधिक जनतालाई घाइते बनाउने छन्। यस्ता कुकुरलाई विलम्ब नगरी मृत्यु नहुँदासम्म लाठीले कुट्नुपर्छ।’
किमको यो प्रतिक्रियालाई अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै लेखेका थिए- ‘अध्यक्ष ज्यू जो बाइडेन निन्द्रामा हुन सक्छन् र तर पागल कुकुर चाहिँ होइनन्। उनी त्यो भन्दा केही त अशल छन्। तर, ममात्र एउटा यस्तो ब्यक्ति हुँ जसले तपाईँलाई जहाँ पनि भेट गर्न सक्छु। हामीले काम तीब्र रुपमा अगाडि बढाउनुपर्छ र समहमति छिट्टै गर्नुपर्छ। छिट्टै भेटौंला।’
किम र ट्रम्पबीच तीन पटक भेट भएको थियो। हानोइ, सिंगापुर र दक्षिण कोरिया भ्रमणका क्रममा पानमुनजोममा। त्यतिबेला ट्रम्पले उत्तर कोरियाली भूमिसमेत टेकेका थिए। किमले अर्को चार वर्ष पनि ट्रम्प सत्तामा हेर्न चाहन्थे।
तर, बाइडेन भने उत्तर कोरियासँग कुनै पनि वार्ता अगाडि उत्तर कोरियाका सबै आणविक कार्यक्रम बन्द हुनुपर्ने शर्त राखेका छन्।
उत्तर कोरियासँग बाइडेनले सम्बन्ध नबढाए दुई देशबीच पुन: विवाद उच्च विन्दुमा पुग्ने विश्लषण गरिएको छ। वासिङटनको ध्यान खिच्न उत्तर कोरियाले पुन: लामो दुरीको क्षेप्यास्त्र परीक्षण गर्न सक्छ। तर पनि किमले अमेरिकासँग सम्बन्ध थप बिगार्न चाँहदैनन्। दक्षिण कोरियाले पनि उत्तर कोरियालाई आगोमा घ्यु थप्ने काम नगर्न भनेको छ। दक्षिण कोरियाका राष्ट्रपति मुन उत्तर सँगको ७० वर्षको दुस्मनी अन्त्य गर्न चाहन्छन्।
बेलायतसँग सम्बन्ध बिग्रने सम्भावना
अमेरिका र संयुक्त राज्य (युके)को विशेष सम्बन्ध जो बाइडेनसँग खस्किन सक्ने बीबीसीका राजनीतिक संवाददाता जेसिका कार्करले लेखेकी छिन्। जो बाइडेन, अनुभवी डेमोक्र्याट र बोरिस जोनसन आडम्बरी ब्रेक्सिस्टरबीच प्राकृतिक सम्बन्ध हुने देखिँदैन।
विगतलाई फर्केर हेरौं, जब अमेरिकामा डोनाल्ड ट्रम्पले जित हात पारे बेलायतले ब्रेक्सिटको पक्षमा मतदान गर्यो। त्यतिबेला जो बाइडेन र बाराक ओवामाले ब्रेक्सिटको विरुद्ध मतदानका लागि समेत आह्वान गरेका थिए।
ब्रेक्सिटले बेलायतलाई पछाडि धकेल्ने भन्दै उनले पटकपटक विपक्षमा धारणा राखेका थिए। ब्रेक्सिटको अन्तिम चरणमा छ बेलायत यतिबेला। यस्तोमा जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएका छन्।
बोरिस जोन्सनले वासिङटनसँगको सम्बन्धका आधारमा हेर्दा तनावपूर्ण अवस्थाको सामाना गर्नुपर्ने गार्जियनले लेखेको छ।
युकेलाई हाउस अफ लर्डमा रहेको इन्टरनल मार्केट विलमा परिवर्तनको दबाब पर्ने उल्लेख छ। यो विलले युकेलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै आयरल्याण्ड टापुमा कडा अध्यागमनको ब्यवस्था गर्ने अनुमति दिने छ। जुन जो वाइडेनको विदेश नीति विरुद्ध हुनेछ।
जोनसोनले बाइडेनलाई विजयको शुभकामना शनिवार साँझ नै दिइसकेका छन्। यद्यपि, बाइडेनको विजय ‘ब्रेक्सिटको लागि ठूलो धक्का’ भएको गार्जेियनकै अर्को आलेखमा उल्लेख छ। ब्रेक्सिट करेसपोन्डेन्ट लिसा ओ क्यारोलको आलेखमा बाइडेन ईयुको पक्षमा वकालत गर्ने र उत्तर आयरल्याण्डको विषयमा युके माथि दबाब पर्ने उल्लेख छ।
बाइडेनका मित्र तथा अमेरिकी विदेशमन्त्री क्रिस कुनले बाइडेनले बेलायतसँगको विशेष सम्बन्धलाई कायम गर्दै ट्रान्स अटलान्टिक पोलिसीलाई पुन:विचार गर्ने उल्लेख छ। साथै, ट्रम्पले बिगारेको ईयू सँगको सम्बधलाई विशेष रुपमा अगाडि बढाउने बताएका छन्।
बोरिस जोन्सनलाई ट्रम्पको विजयीले ब्रेक्सिटलाई अगाडि बढाउन सहयोग पुग्थ्यो। तर, बाइडेन विजयी भए। स्मरण रहोस बोरिस बिजयी हुँदा ट्रम्पले उनलाई बेलायतका ट्रम्पको संज्ञा दिएका थिए।
बाइडेन पनि शारीरिक कद र भावनात्मक रुपमा ट्रम्प र बोरिस क्लोन हुन भन्नेमा सहमत थिए। यस्तोमा जो बाइडेन लण्डन भन्दा पनि बर्लिन, पेरिस वा ब्रसेल्ससँग पहिला वार्ता सुरु गर्नसक्छन्। यसले युके र युएसको विशेष सम्बन्ध खस्किन सक्छ।
रसियासँग सम्बन्ध चिसिनसक्ने
जो बाइडेन रसियाप्रति पनि कडा रुपमा प्रस्तुत हुने नेता हुन्। कुनै बेला रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गर्दै उनले भनेका थिए- ‘यदि म उनको स्थानमा हुन्थे भने २०१२ मा म राष्ट्रपति पदका लागि उठ्ने थिइन् किनकि यो देश र उनी आफैँका लागि खराब हो।’
त्यतिबेला प्रधानमन्त्री रहेका पुटिन तेस्रो कार्यकालका लागि राष्ट्रपति पदका लागि उम्मेदवार दिने तयारीमा थिए। रुसी विपक्षी नेतासँग भेट गर्दै उनले दिएको अभिव्यक्तिले क्रेमिलिनले पक्कै पनि भुलेको छैन।
यतिबेला क्रेमिलिनको नेतृत्व पुटिनले गरिरहेका छन्। ह्वाइट हाउसमा बाइडेनको प्रवेश हुँदै छ। बाइडेनको जितप्रति क्रेमिलिन मौन छ। पुटिनले कुनै प्रतिक्रिया दिएका छैनन्। तर, रुसका विपक्षी नेता अलेसेइ नाभाल्नीले बाइडेनलाई बधाई दिइसकेका छन्। उनले ट्वीट गर्दै बाइडेन र कमला ह्यारिसलाई बधाई दिएका छन् -‘स्वतन्त्र र स्वच्छ निर्वाचनमा नयाँ नेतृत्व’।
उनले अगाडि लेखेका छन्- ‘यो अवसर सबै देशमा कहाँ प्राप्त हुन्छ र?’ उनी हाल जर्मनीमा उपचाररत छन्। उनलाई गत वर्ष विष खुवाइएको थियो। विश्वका नेताहरुले बाइडेनलाई बधाई दिइसक्दा पुटिन भने मौन छन्।
अमेरिकी राष्ट्रपति बुसको पालामा पुटिनसँगको सम्बन्ध सुधार भएको थियो। कुनै बेला बुसले भनेका थिए- ‘जब मैले उनको आँखामा हेर प्रष्ट रुमा सिधा र भरोसा योग्य देखेँ। अझ मैले उनको आत्मालाई देखेँ।’
तर, ८ वर्षे ओवामा कालमा भने सम्बन्ध अलिक टाढियो। ओवामाले खुला रुपमा सम्बन्धलाई परिमार्जन गर्ने घोषणा गरे, २०१४ मा जब रुसले क्रिमियामा नियन्त्रण लियो। बाइडेन ओवामाको नीतिका समर्थक थिए।
बाइडेनको सम्बन्ध रुससँग राम्रो छैन भन्ने कुरा उनकै अभिव्यक्तिले पनि प्रष्ट पार्छ। उनले निर्वाचन अभियानका क्रममा रुसलाई विपक्षी र चीनलाई प्रतिस्पर्धी बताएका थिए।
निर्वाचन अभियानमा पनि ट्रम्पमाथि रुसप्रति ‘सफ्ट’ भएको भन्दै प्रहार हुँदै आएको थियो। ट्रम्पले पनि रुसले आफूलाई नै ह्वाइट हाउसमा चाहेको र रुससँग आफूबाहेक अरु कोही सम्बन्ध राख्न नसक्ने बताउँदै आएका थिए। रुसी विपक्षी नेतामाथि विष खुवाइएको विषयमा ट्रम्प प्रशासन नबोलेको भन्दै बाइडेनले आलोचनासमेत गरेका थिए।
बाइडेनले पुटिनसँग सम्बन्धको हात नबढाउने विश्लेषकहरु बताउँछन्।
‘मलाई लाग्दैन कि बाइडेनले पुटिनलाई रिझाउनका लागि शिर निहुराउने छन्,’ बुस प्रशासनका उप विदेशमन्त्री रहेका डेभी क्रामेरले भने, ‘मस्कोले उनीविरुद्ध भ्रामक प्रचारहरु गर्दै आएको थियो। त्यसैले पनि मलाई लाग्दै उनले हात अगाडि बढाउने छन् र भन्ने छन्- आउ सम्बन्ध राम्रो बनाउँ।’
उनले अहिले रुससँगको सम्बन्ध भन्दा पनि बाइडेनलाई कोभिड-१९ नियन्त्रणसहितका आन्तरिक मामिलाहरुलाई हेर्नुपर्ने भ्वाइस अफ अमेरिकासँग भनेका छन्।
युरोपेली संघसँग कस्तो होला सम्बन्ध?
युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लिएनले पनि बाइडेनको जितमा बधाइ दिएकी छिन्। उनले बाइडेसनसँग सीघ्र भेटको अपेक्षा राख्दै मिलेर काम गर्न चाहेको बताएकी हुन्।
बाइडेनको जितले जर्मनीलाई आरामको अनुभित दिलाएको छ। १० प्रतिशत जर्मनले मात्र ट्रम्पको विदेश नीतिलाई मन पराएको पेउ रिसर्च सेन्टरको सर्वेक्षणले देखाएको छ।
उनीहरुका नजरमा ट्रम्प भन्दा पुटिन र चिनियाँ राष्ट्रपति सी विश्वासिला छन्।
बाइडेनको जितमा एन्जेला मर्केलसँगै जर्मनका मिडियाहरुले पनि उत्सव जस्तै मनाएका छन्। बाइडेनको जित प्रक्षेपण हुना साथ जर्मन चान्सलर एन्जेला मर्केलले बधाइ दिएकी थिइन्।
इयु भित्रका अन्य राष्ट्रहरुबीचको सम्बन्ध पनि बाइडेनसँग राम्रो हुने विश्वास गरिन्छ। बाइडेनको जितसँगै फ्रान्सका राष्ट्रपति इमान्युएल मार्कोनले पनि बधाई दिँदै ‘अहिलेको चुनौती सामाना गर्न हामीले धेरै गर्न बाँकी रहेको छ। मिलेर काम गरौं,’ भनेका छन्।
इटालीले पनि बाइडेनको विजयलाई स्वागत गरेको छ। प्रधानमन्त्री गुइसेपे कोन्टेले बधाई दिँदै मिलेर कामा गर्ने प्रस्ताव गरेका छन्। उनले अमेरिका र इटाली ट्रान्स अटलान्टिक क्षेत्रको साझेदारीलाई बलियो बनाउन प्रस्ताव गरेका छन्। बाइडेनको विदेश नीतिमा ट्रान्स अटलान्टिक साझेदार प्रमुख रुपमा पर्छ।
इरानसँग होला वार्ता?
बाइडेनको विजयले ट्रम्पको कार्यकालमा टुटेको इरानसँगको संवादलाई पुन: वार्ताको टेबलमा ल्याउने अपेक्षा गरिएको छ। निर्वाचनका केही समय अगाडि उनले भनेका थिए- ‘मेरो जितपछि मलाई आउने पहिलो कल भनेको इरानी नेताको हुनेछ। किनभने उनीहरुले सम्झौताका लागि आतुर छन्।’
ट्रम्प कार्यकालमा इरान र अमेरिकाबीचको सम्बन्ध थप बिग्रिएको थियो। बाइडेनको जितसँगै दुई देशबीचको न्युक्लियर डिल पुन: सुरु हुने आशा गरिएको छ। ओवामा कालममा २०१५ मा इरान र अमेरिकाबीच न्युक्लियर अकोर्डमा हस्ताक्षर भएको थियो। त्यतिवेला बाइडेन उपराष्ट्रपति थिए।
त्यसको तीन वर्षपछि ट्रम्प एकलौटी रुपमा उक्त डिलबाट पछि हटे। बाइडेनले कोर्स चेन्ज गर्ने वाचा गरेका छन्। बाइडेनले अर्कोटमा फर्किने बताइसकेका छन्। इरानले पनि अर्कोर्ट पुन परिपालनमा फर्किने प्रतिवद्धता जनाएको छ। त्यसका लागि अमेरिकाले पनि पालना गर्नुपर्ने बताएको छ।
इरानका राष्ट्रपति हसान रोहानी जो बाइडेनलाई पुरानो गल्ती सुधार गर्न र तेहरानमा भएको २०१५ को न्युक्लियर डिलमा फर्किन आग्रह गरेका छन्।
‘अहिले एउटा अवसर प्राप्त भएको छ नयाँ अमेरिकी प्रशासनलाई कि पुरानो प्रशासनको गल्ती सुधार गर्दै अन्तर्राष्ट्रिय सहमति अनुसार अगाडि बढ्दै अन्तर्राष्ट्रिय मान्यताको सम्मान गर्ने,’ उनलाई उदृत गर्दै इरानी सरकारी समाचार एजेन्सीले जनाएको छ।
इरानका विदेश मन्त्री मोहमद जाभेड जाफ्रीले पनि नयाँ बाइडेनको प्रशासन ट्रम्प प्रशासन भन्दा फरक हुन्छ कि हुँदैन भनेर विश्वले अमेरिकालाई हेरिरहेको बताएका छन्। इरानप्रतिको नजर र अन्तर्राष्ट्रिय साझेदारीलाई बाइडेन प्रशासनको नीति हेर्ने उनले बताएका छन्।
यता ट्रम्प प्रशासनले भत्काएको क्युवासँगको सम्बन्ध पनि सुधार हुने अपेक्षा गरिएको छ। ओवामा कार्यकालमा क्युवासँगको कुटनीति सुधार भएको थियो। तर, ट्रम्पले यसलाई पुन: भत्काएका थिए।
क्वुबाका राष्ट्रपति मिग्युयल डिया कानेलले बाइडेनकव जितले अमेरिकी जनताले नयाँ दिशा रोजेको प्रतिक्रिया दिएका छन्।
‘हामीले नयाँ रचनात्मक द्वीपक्षीय सम्बन्धको सम्भावनामा विश्वास गर्छौं जहाँ एक अर्काबीचको सम्मान होस,’ उनले भनेका छन्। उनले अमिरका क्युवा सम्बन्ध सुधार हुने अपेक्षासमेत राखेका छन्।
ओवामाले २०१४-१६ मा दशक लामो भत्किएको सम्बन्धलाई सुधार गरेका थिए। तर, ट्रम्प राष्ट्रपतिको रुपमा ह्वाइट हाउस प्रवेश गरी क्युवा माथि थप नाकाबन्दी लगाए।
क्वुवाली जनता पनि ट्रम्पको पराजयमा खुशी भएको र बाइडेन राष्ट्रपति भएसँगै नाकाबन्दी हट्ने आशामा रहेको रोयटर्सले जनाएको छ।
आखिरमा, नेपालमाथि कस्तो प्रभाव?
बाइडेनको जितमा अमेरिकाको नेपाल नीतिमा तात्विक रुपमा फरक नपर्ने विश्लेषकहरु बताउँछन्। अमेरिकाको नेपाल नीति पुरानै हो। हिजो बाराक ओवामा कालमा जे थियो। ट्रम्प कालमा पनि त्यस्तै रह्यो अब बाइडेन कालमा पनि तात्विक फरक पर्दैन।
ट्रम्प प्रशासनले सुरु गरेको इन्डो प्यासिफिक स्ट्राटेजीले बाइडेन कालमा पनि निरन्तरता पाउने हुँदा अमेरिकाको नेपालप्रतिको स्वार्थ उस्तै हुने छ। अमेरिकाको नेपाल सम्बन्धी स्वार्थ चीन र भारत जोडिएर आउने गरेको छ।
चीनको बीआरआईलाई रोक्न अगाडि सारेको इन्डो प्यासिफिक रणनीतिमा नेपालको सहभागिता अमेरिकाको चासो हो। जुन हिजो पनि थियो भविष्यमा पनि रहने छ। ट्रम्प प्रशासन अन्तर्राष्ट्रिय मञ्चहरुबाट टाढिएको र फन्ड खारेज गरेको थियो। जलवायु सम्बन्धी पेरिस सम्झौता लगायतबाट बाहिरिएको अमेरिका बाइडेन कालमा पुन: प्रवेश गर्नेछ। जसको अप्रत्यक्ष फाइदा नेपाल जस्ता देशहरुलाई पुग्ने नै छ।
पछिल्लो समय राष्ट्रसंघ लगायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा अमेरिकाले दिँदै आएको सहयोग खारेज गरेसँगै यसको असर नेपाल लगायतका साना देशहरुमा परेको थियो। बाइडेन विभिन्न मञ्चहरुमा अमेरिकालाई सहभागी गराउँदै लैजाने अपेक्षा गरिएको छ।