वीरगन्ज । पर्साका विभिन्न स्थानबाट संकलन गरिएको ८० जनाको थ्रोट स्वाब परिक्षण गर्दा गएराति ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाका अनुसार पर्सा र बाराका ७ जना पुरुष र १ जना महिला गरी थप ८ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमध्ये २ जना बाराका हुन् ।
बाराको सुवर्ण गाउँपालिकाको वडा नम्बर ३ का एक जना र जीतपुरसिमरा उपमहानगरका एक जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताए ।
पर्सामा थपिएका संक्रमितमध्ये वीरगञ्ज महानगरपालिका वडा नम्बर १५, १० र ३ का एक/एक जना रहेका छन् ।
त्यसैगरी छिपहरमाई गाउँपालिकाको वडा नम्बर १ का पनि एक जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताए । पोखरिया नगरपालिकाको वडा नम्बर १ का एक जना र पकाहामैनपुर गाउँपालिकाको वडा नम्बर ४ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाहरु १८ वर्षदेखि ८५ वर्ष उमेर समुहका रहेका छन् । उनीहरुको सिटि भ्यालु १५ देखि ३४ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए ।