नेपालमा दैनिक दुई हजार कोरोना संक्रमित भेटिनु अहिले नौलो विषय रहेन। विगत ९ महिनामा कोरोना संक्रमितको संख्या १ लाख ८० हजार नजिक पुगेको छ। देशभर हाल ३७ हजार ४ सय ७६ जना कोरोनाका सक्रिय संक्रमित छन्। जसमध्ये १३ वटा जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन्।
कोरोनाको हटस्पट मानिएको काठमाडौंमा सक्रिय संक्रमितको संख्या सबैभन्दा धेरै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित छन्।
मोरङमा २ हजार ६ सय ६६, ललितपुरमा २ हजार २ सय ६४, सुनसरीमा १ हजार ६ सय २४, चितवनमा १ हजार ४ सय ३६, रुपन्देहीमा १ हजार ३ सय ६०, भक्तपुरमा १ हजार १९ हजार जना सक्रिय संक्रमित छन्।
यस्तै, झापामा ९ सय ५६, काभ्रेपलाञ्चोकमा ६ सय ८९, मकवानपुरमा ६ सय ६१, नवलपरासी पूर्वमा ५ सय ४६, कास्कीमा १ हजार १ सय ९१ र दाङमा ८ सय ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।
संक्रमितको संख्या दैनिक बढिरहँदा व्यवस्थापनको पक्ष स्थानीय तहका लागि प्रमुख चुनौती बनेको छ। कन्ट्याक्ट ट्रेसिङ, संक्रमितको पहिचान जस्ता काममा स्वास्थ्य कार्यालयहरुको भूमिका महत्वपूर्ण मानिन्छ।
जिल्लामा भेटिने नयाँ संक्रमितलाई सम्बन्धित स्थानीय तहको संयोजकको सम्पर्कमा राख्ने काम पनि उनीहरुले नै गर्छन्। तर अधिकांशले हाल कन्ट्याक्ट ट्रेसिङको काम गर्न समस्या भएको, स्थानीय तहसँग समन्वयको अभाव भएको बताएका छन्।
यिनै ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरुसँग स्वास्थ्यखबरले त्यहाँ भइरहेको व्यवस्थापनका विषयमा बुझ्ने प्रयास गरेको छ। के भन्छन् त काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, झापा र रुपन्देहीका स्वास्थ्य कार्यालय प्रमुखहरु?
स्थानीय तहसँगको समन्वयको अभाव छ : बद्रीबहादुर खड्का, काठमाडौं
कोरोनाको हटस्पट बनेको जिल्ला हो, काठमाडौं। यहाँ दैनिक एक हजार बढी संक्रमित भेटिने गर्छन्।
काठमाडौंमा हालसम्म ६५ हजार ७ सय ८८ जना कोरोना संक्रमित भेटिएका छन्। जसमध्ये १५ हजार ८ सय ६३ जना सक्रिय संक्रमित छन्। २ सय ४९ जना संक्रमितको मृत्यु भइसकेको छ। कुल संक्रमितमध्ये ४९ हजार ६ सय ७६ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणको जोखिम र संख्या बढीरहँदा स्थानीय तहसँगको समन्वय भने सोचेजति हुन नसकेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्का बताउँछन्। उनी भन्छन्, ‘सबै अधिकार स्थानीय तहलाई छ। हामीले समन्वय गर्ने हो तर महानगरपालिकाले राम्रोसँग काम नगर्दा समस्या भएको छ।’
काठमाडौंमा कन्ट्याक्टमा आएका संक्रमितको संख्या नै धेरै भएको उनले बताए। काठमाडौंमा मात्र करिब आठ हजार संक्रमित होम आइसोलेसनमा रहेको कार्यालयले जनाएको छ।
कोरोनाको रोकथाम र उपचारका कामहरु स्वास्थ्यकर्मीको मात्र हो भन्ने मानसिकता महानगरपालिकाको भएको उनले बताए।
उनले भने, ‘महानगरपालिकाका जुन राजनीतिक पदाधिकारी हुनुहुन्छ छन्, उहाँहरु अरु नगरपालिकाको जस्तो कन्भिन्स हुनुहुन्न। यो काम भनेको स्वास्थ्यको हो भन्ने सोचाइ उहाँहरुको छ।’
काठमाडौं अन्तर्गतका वडाहरुमा कर्मचारीहरुको समेत अभाव भएको उनले बताए। पिसिआर र उपचार शुल्क व्यक्ति स्वयंले गर्ने सरकारको निर्णयपछि आफूहरुलाई कन्ट्याक्ट ट्रेसिङमा समस्या भएको उनी बताउँछन्।
उनी भन्छन्, ‘पिसिआर र उपचार शुल्क आफैंले गर्ने सरकारको निर्णयपछि कन्ट्याक्ट ट्रेसिङमा हामीलाई समस्या छ। हामीले फोन गरेर परीक्षण गर्न जानूस् है भन्दा रिसाउँछन् पनि।’
काठमाडौंमा कोरोना संक्रमितको उपचारका लागि आइसियु, आइसोलेसन गरी २ हजार ६ सय ६६ शय्याको व्यवस्था गरेको उनले जानकारी दिए।
कन्ट्याक्ट ट्रेसिङको काम गर्न अन्योल छ : कृष्णबहादुर मिजार, भक्तपुर
भक्तपुरमा हालसम्म ५ हजार ९ सय ६६ संक्रमित भेटिएका छन्। जसमध्ये ४ हजार ८ सय ७९ जना निको भइसकेका छन् भने ६८ जनाको मृत्यु भएको छ। भक्तपुरमा १ हजार १९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
भक्तपुरमा पनि सरकारले गरेको निर्णयका कारण कन्ट्याक्ट ट्रेसिङमा समस्या र अन्योल दुवै भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले बताए।
उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङको काम गर्न अहिले हामीलाई अन्योल छ। मन्त्रालयले कहिले पैसा लिने त कहिले नलिने भन्छ, त्यसैले काम गर्न पनि अन्योल भइरहेको छ।’
जिल्लामा भेटिने नयाँ संक्रमितलाई कार्यालयले स्थानीय तहको स्वास्थ्य संयोजकलाई पठाउने गर्छ र उनीहरुले नै त्यसको व्यवस्थापन गर्छन्। संक्रमितलाई अस्पताल या आइसोलेसनमा राख्नुपरे स्थानीय तहले व्यवस्थापन गर्ने तर अन्यत्र पठाउनु परे आफूहरुले समन्वय गर्ने उनले बताए।
कन्ट्याक्ट ट्रेसिङ तथा संक्रमितको पहिचान गर्ने र ती संक्रमितलाई सम्बन्धित स्थानीय तहका संयोजकलाई हस्तान्तरण गर्ने उनले बताए। हाल स्वास्थ्य कार्यालयबाट ९ जना जनशक्तिलाई यस कामका लागि परिचालन गरेको उनले बताए।
लक्षण विहीन या हल्का लक्षण भएका संक्रमितलाई कार्यालयले ठिमीको आइसोलेसन सेन्टर, खरिपाटीको आइसोलेसन सेन्टर र भक्तपुरमा भएको केमसीको आइसोलेसन सेन्टरमा राख्दै आएको छ।
लक्षण भएका संक्रमितलाई भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री अस्पतालमा पठाउने गरेको उनले बताए। उनले भने, ‘लक्षण नभएका र ६० वर्ष कम उमेरका व्यक्ति छन् र घरमा बस्ने व्यवस्था छैन भने मात्र आइसोलेसन सेन्टरमा पठाउँछौं।’
भक्तपुर नगरपालिकाले पनि आफ्नै स्रोतमा ६० शय्या बढीको आइसोलेसन सेन्टर सञ्चालन गरेको गरेको उनले जानकारी दिए।
सरकारको निर्णयले अन्योलमा छौं : डा खगेश्वर गेलाल, ललितपुर
ललितपुर स्वास्थ्य कार्यालयका प्रमुखको अनुभव र समस्या पनि उस्तै छ। कार्यालय प्रमुख डा खगेश्वर गेलाल भन्छन्, ‘पहिले नयाँ केस आउने बित्तिकै कन्ट्याक्ट ट्रेसिङ गर्ने, परीक्षण गर्न आउनुहोस्, यो अस्पतालमा उपचार गर्न जानुस् भन्थ्यौं, सबै व्यवस्थित थियो। तर अहिले सबै आफैंले गर्नुपर्ने भएकाले भन्न पनि अप्ठ्यारो हुने रहेछ।’
कन्ट्याक्ट ट्रेसिङको काम भए पनि व्यवस्थित रुपमा हुन नसकेको उनी बताउँछन्। फोनबाटै कुन व्यक्ति कस्तो हो भनेर छुट्याउन नसक्ने भएकाले समस्या भएको उनको भनाइ छ। तर पनि सबैलाई कोरोना परीक्षण गर्न आग्रह गर्ने गरिएको उनले बताए।
ललितपुरको ६ वटा पालिकामध्ये ४ वटा पालिकामा कुनै समस्या नरहेको उनले बताए। गोदावरी र बागमती नगरपालिका, महाँकाल र कन्ज्योस्योम गाउँपालिकामा कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग भइरहेको उनले बताए।
यी पालिकाहरुमा संक्रमितको संख्या कम भएकाले कन्ट्याक्ट ट्रेसिङको काम यथावत् रुपमा भइरहेको उनले बताए। तर, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकामा भने त्यति व्यवस्थित रुपमा काम हुन नसकेको उनी बताउँछन्।
ललितपुरमा हालसम्म ९ हजार ३ सय १४ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ हजार ९ सय ८७ जना उपचारपछि निको भएका छन् भने ६३ जनाको मृत्यु भइसकेको छ। यहाँ २ हजार २ सय ६४ जना अझै पनि उपचारमा छन्।
कोरोनाको उपचारका लागि ललितपुरमा करिब ५ सय शय्या रहेको कार्यालयले जनाएको छ।
कोरोना नियन्त्रण गर्ने उपायबारे जुट्दै स्वास्थ्य कार्यालय काभ्रे
काभ्रेपलान्चोकमा हालसम्म १ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण भेटिएको छ। जसमध्ये १२ सय बढी निको भएर घर फर्किसकेका छन्। मंगलबारसम्मको तथ्यांक अनुसार २१ जनाको मृत्यु भएको छ। ६ सय ८९ जना सक्रिय संक्रमित छन्। त्यहाँ १४४ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्।
लक्षण भएका संक्रमितको उपचारका लागि तीन वटा अस्पताललाई जिम्मा दिइएको स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रशासन अधिकृत डा नरेन्द्रकुमार झाले बताए। लक्षण नभएका संक्रमितका लागि भने कार्यालयले तीन वटा आइसोलेसन सेन्टरको स्थापना गरेको छ।
झाका अनुसार काभ्रेमा १५ आइसियु सहितको ८२ आइसोलेसन शय्याको व्यवस्था गरिएको छ। काभ्रे कोरोनाको हटस्पट बन्दै गएकाले यसको संक्रमणलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बिषयमा विभिन्न निकायमा छलफल अगाडि बढाइएको उनी बताउँछन्।
रुपन्देहीमा संक्रमितको उपचारका लागि १६ वटा आइसोलेसन सेन्टर
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ६ हजार ५ सय १७ जना संक्रमित भएका छन्। जसमध्ये साढे ४ हजार ७ सय ८८ निको भइसकेका छन्। रुपन्देहीमा हाल १ हजार ३ सय ६० संक्रिय संक्रमित छन्। ७५ जनाको मृत्यु भएको छ।
रुपन्देहीमा लक्षण भएका संक्रमितको उपचारका लागि लुम्बिनी प्रदेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल र भैरहवास्थित भीम अस्पतालसँग समन्वय गरिएको स्वास्थ्य कार्यलयका प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए।
उनका अनुसार लक्षण नभएका संक्रमितको उपचार गर्न जिल्लाका विभिन्न ठाउँमा १६ वटा आइसोलेसन सेन्टर निर्माण गरेको छ। केही संक्रमित निजी अस्पतालमा पनि जाने गरेको गिरीले बताए।
सरकारले होम आइसोलेसनको व्यवस्था गरेसँगै लक्षण नभएका संक्रमित होम आइसोलेसनमा बस्ने गरेको कार्यालयले जनाएको छ।
आइसियु र भेन्टिलेटर शय्याको क्षमता बढाउने झापाको योजना
झापामा २ हजार ४ सय ७५ जना कोरोना संक्रमित भर्ना भइसकेका छन्। जसमध्ये मंगलबारसम्म ४६ जनाको मृत्यु भएको छ। १३ सय बढी निको भएर घर फर्किसकेका छन्। झापामा ९ सय ५६ संक्रमित संक्रमित उपचाररत छन्। झापामा हालसम्म ५५ जना स्वास्थ्यकर्मी पनि संक्रमित भइसकेका छन्।
झापाले सुरुवाती चरण देखि नै लक्षण भएका र नभएका संक्रमितलाई छुट्टा छुट्टै राखेर उपचार गर्दै आएको छ। जटिल खालका संक्रमितहरुलाई मेची अस्पतालमा उपचारको व्यवस्था गर्ने गरेको स्वास्थ्य कार्यालय प्रमुख इश्वरी पौडेलले जानकारी दिए।
पौडेलका अनुसार प्रत्येक पालिकामा आइसोलेसन सेन्टर स्थापना गरेको छ। त्यहाँ सामान्य अक्सिजन चाहिने बिरामीको उपचार गरिन्छ भने जटिल खालका बिरामीलाई कार्यालयले मेची अस्पतालमा रिफर गर्दै आएको छ।
जिल्लामा ५ आइसियु र ५ भेन्टिलेटर सहितको ७५ शय्या आइसोलेसन रहेको कार्यालयले जनाएको छ। जनशक्ति, स्रोत–साधन र शव व्यवस्थापन गर्ने ब्यागको अभाव भएको प्रमुख पौडेलले बताए। चुनौतीका रुपमा रहेको यी समस्या समाधानका लागि पहल भइरहेको उनी बताउँछन्।
कोरोना संक्रमितको उपचार गर्न आइसियु र भेन्टिलेटर शय्याको क्षमता बढाउने योजना रहेको उनले जानकारी दिए।रासस