कोरोना संकटकै बीच भारतमा चुनावी रौनक छ । मंगलबार विहारमा विधानसभा चुनावको दोस्रो चरणमा मतदान हुँदैछ ।
भारतीय निर्वाचन आयोगलाई उदृद्ध गर्दै भारतीय सञ्चार माध्यमले जनाए अनुसार दोस्रो चरणमा मंगलबार १७ जिल्लाका ९४ सिटका लागि मतदान हुँदैछ ।
मतदान बिहान ७ देखि साँझ ६ बजेसम्म चल्नेछ । २४३ सिट रहेको विहार विधानसभामा मंगलबार आधाभन्दा धेरै सिटमा मतदान हुनेछ ।
दोस्रो चरणको मतदानमा कुल एक हजार ४६३ जना उम्मेदवार छन् । यो चरणमा करिब दुई करोड ८६ लाख मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।
बिहारबाहेक अरु १० राज्यमा कोरोना महामारीकै बीच ५४ सिटमा उपचुनावका लागि मतदान हुँदैछ ।
२ सय ४३ सिट रहेको विहारमा पहिलो चरणमा २८ अक्टोबरमा १६ जिल्लाका ७१ सिटको लागि मतदान भएको थियो ।
बिहारमा तेस्रो चरणको मतदान ७ नोभेम्बरमा हुनेछ ।
कोरोना संक्रमण विश्वमै सबैभन्दा धेरै फैलिएको देशमध्ये दोस्रो नम्बरमा रहेको भारतमा भइरहेको चुनावलाई महत्वका साथ हेरिएको छ ।
मतदानस्थलमा मतदाताका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।