अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राती भएको राष्ट्रपतिय बहसमा आफूले चीनबाट पैसा नकमाएको दावी गरे । तर, उनले राष्ट्रपति पद सम्हालेपछि चीनको सरकारी स्वामित्वका संस्थाहरुबाट करोडौं रकम लिएको फोर्ब्सले खुलासा गरेको छ । फोर्ब्सका अनुसार चीनको सरकारी स्वामित्वको बैंक समेत संलग्न रहेको ट्रम्प टावरको भाडा सम्झौता अन्तर्गत चीनबाट ट्रम्पलाई ५.४ कम्तीमा मिलियन डलर भुक्तानी भएको छ ।
चीनको इण्डष्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइनाले २००८ मा भाडाको सम्झौता गरेको थियो र उसले त्यतिबेलादेखि १.९ मिलियन डलर वार्षिक भाडा भुक्तानी गर्दै आएको छ । ट्रम्पलाई यस विषयमा पूर्ण जानकारी छ । ‘मैले तपाइँहरुलाई इण्डष्ट्रियल बैंक अफ चाइना देखाउँछु’ उनी राष्ट्रपति हुनुअघि २०१५ मा फोर्ब्सका तीन जना पत्रकार ट्रम्प टावरमा गएका बेला ट्रम्पले भनेका थिए ‘यो भवनमा मसँग विश्वका सबैभन्दा उत्कृष्ट भाडामा लिनेहरु छन् ।’
ट्रम्प २०१७ मा यो भवनबाट ह्वाइट हाउसमा सरेका थिए तर उनको ट्रम्प टावर र चीनको बैंकलाई दिइएको ठाउँको स्वामित्व उनीसँगै छ । चीनको इण्डष्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइनामा सरकारी स्वामित्वका संस्थाको ७० प्रतिशत स्वामित्व छ । अमेरिकाको संवैधानिक व्यवस्था अनुसार संघीय अधिकारीहरुले कंग्रेसको स्वीकृतिबिना विदेशी सरकारबाट यसरी सम्पत्ति आर्जन गर्न पाउँदैनन् । यसले राष्ट्रपति ट्रम्प थप नैतिक समस्यामा पर्न सक्ने देखिएको छ ।