योगका अनेकौं फाइदा छन्। अनि बच्चालाई योगासन गराउँदा उनीहरूको शरीर स्वस्थ र सक्रिय बन्छ र बुद्धि पनि तेज हुन्छ।प्रत्येक मातापिताले आफ्ना बच्चाको तनमन स्वस्थ रहोस् र उनीहरू प्रत्येक कदममा सफल हुन् भन्ने इच्छा राख्छन्। तपाईंले आफ्ना बच्चाहरूलाई योग गराउनुभयो भने यो इच्छा सजिलै पूरा गराउन सक्नुहुन्छ । यहाँ हामी केही योगासनको चर्चा गर्दैछौं ।
ऊँ को उच्चारण
ऊँको उच्चारण गर्दा ध्यान केन्द्रित गर्ने शक्ति विकसित हुन्छ । उच्चारणले मानसिक शान्ति प्राप्त हुन्छ तथा मस्तिष्कमा रक्तसञ्चार पनि बढ्छ । यसो गर्नका लागि सुखासनमा बसेर हातहरूलाई ज्ञानमुद्रामा राख्नुस् । अनि लामो सास लिएर ऊँको उच्चारण गर्दै सास छोड्नुस् । यस्तो तीनदेखि पाँचचोटि गर्नुस् ।
भ्रामरी
आजकल बच्चाहरूलाई थकान र तनाव हुनु सामान्य कुरा भएको छ । यसले गर्दा बच्चाहरू पढाइमा ध्यान दिँदैनन् अनि खेलकुदमा पनि सक्रिय हुँदैनन् । बच्चाहरूलाई भ्रामरी गराउनुभयो भने समस्या समाधान हुन्छ । ब्राह्मरी गर्दा स्वरयन्त्र बलियो हुन्छ, अनिद्रा भाग्छ अनि रिस, थकान तथा तनाव हट्छ । यो गर्न सुखासनमा बस्नुस् र आँखा बन्द गरेर सास लिनुस् अनि कानमा औंला घुसाएर हम्म्म्म्म आवाजका साथ सास छोड्नुस् । थोरै अभ्यासपछि नै बच्चाहरूले सजिलै यो योग गर्न सक्छन् ।