प्रचण्डद्वारा पर्सा घटनाका दोषीमाथि अविलम्ब कारबाही गर्न सरकारसँग माग
वीरगंज संजाल
९ कार्तिक २०७७, आईतवार २०:४६
३१६९
वीरगंज | सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्साका आफ्नो पार्टीका गाउँपालिका सचिब मुकेश चौरसियाको हत्यामा संलग्नहरुलाई अविलम्ब कारबाही प्रक्रिया अगाडि बढाउन सरकारलाई आग्रह गरेका छन्।प्रचण्डले चौरसियाको हत्या भएको चार दिनपछि एकल विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन्। उनले हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय भएको बताएका छन्।
यसअघि चौरसियाको हत्याको भत्सर्ना गर्दै पर्सा जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवले वक्तव्य जारी गरी चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारबाही गर्न माग गरेका थिए।उनले विज्ञप्तिमा भनेका छन्, ‘म पार्टी केन्द्रको कार्यकारी अध्यक्षको हैसियतले उक्त वक्तव्यको समर्थन गर्दै दोषी जोसुकै भएपनि कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछु।’
यही कात्तिक ६ गते पार्टी जिल्ला समिति सदस्यसमेत रहेका चौरसिया आफ्नै पार्टीका कर्यकर्तासँगको झडपमा परी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको थियो। पूर्व माओवादी पृष्ठभूमिका चौरसियाको बिन्द्बासिनी गाउँपालिका पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रममा केही अवाञ्छित तत्वहरुको आक्रमणमा परी मृत्यु भएको आरोप खास गरी प्रचण्ड पक्षहरुले लगाएका छन्।
प्रचण्डले घुमाउरो रुपमा ओली पक्षले आक्रमण गर्दा चौेरसियाको हत्या भएको आरोप लगाएका हुन्। कर्णाली विवादका कारण ओली र प्रचण्डको सम्बन्ध पुन: चिसिएका बेला प्रचण्डले एक्लै हस्ताक्षर गरेर पर्सा घटनाका दोषीलाई कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका हुन्।