कोरोनाबाट विदेशमा थप एक नेपालीको मृत्यु, ४२ हजार जनामा संक्रमण
वीरगंज संजाल
९ कार्तिक २०७७, आईतवार ११:५३
१९५३
काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट यो साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा थप एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
एनआरएनए स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विभिन्न ४२ मुलुकमा रहेका नेपालीमध्ये ४२ हजार ७ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । तीमध्ये ३९ हजार १ सय ७९ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको पनि समितिले जनाएको छ ।
यो साता भारत, स्पेन, कतारमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । हाल सम्म १९ देशका २८४ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
यस्तै नेपालमा मात्र एक लाख ५५ हजार दुई सय ३३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये एक लाख आठ हजार तीन सय ३४ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ७० प्रतिशत हो ।
हिजो शनिबार साँझसम्म नेपालमा ८४२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । हालसम्म विदेशसहित कोरोना भाइरसका कारण १ हजार १ सय २६ नेपालीले ज्यान गुमाएका छन् ।
मास्कको प्रयोग गरौं मास्को प्रयोग गर्नाले सयौंको संख्या मानिसहरुको ज्यानबाट जोगिने गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । मास्कको प्रयोगका कारण संक्रमण वृद्धिदर दरमा निकै कम हुने भएकाले सबैलाई अनिवार्य मास्कको प्रयोग गर्न समितिले आग्रह गरेको छ । संयोजक सापकोटाका अनुसार अमेरिका, युरोपका देशहरुका गरिएको एक अध्ययनले संक्रमण रोक्ने मुख्य साधन मास्क भएको निष्कर्ष निकालिएको छ । स्वास्थ्य समितिले सार्वजनिक स्थलमा निस्किँदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउनसमेत अनुरोध गरेको छ ।
उद्धार कोरोना महामारीपछि विदेशमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीहरुको उद्धार जारी छ । गैरआवासीय नेपाली संघ, नेपाल सरकार र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुको संयुक्त पहलमा हालसम्म ३२ देशका एक लाख २० हजार ८ सय २९ जना नेपालीहरुको उद्धार गरिएको गैरआवासीय नेपाली संघको कोभिड-१९ उच्चस्तरीय समितिका संयोजक चिरन शर्माले विज्ञप्तिमार्फत जनाएका छन् ।