वीरगंज | पूर्वी लद्दाखको डेकचक क्षेत्रमा भारतले एक चिनियाँ सैनिकलाई हिरासतमा लिएको बीबीसीले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ती चिनियाँ सैनिक वास्तविक नियन्त्रण रेखा (एलएसी) पार गर्दै भारततर्फ आइरहेका थिए । भारतीय सेनाका अनुसार पक्राउ परेका सैनिक वाङ या लोङलाई सबै किसिमको मेडिकल सुविधा, अक्सिजन, खाना र न्यानो कपडा दिइएको छ । अत्यधिक चिसोबाट बचाउन चिनियाँ सैनिकलाई यो सुविधा दिइएको बताइएको छ ।
पक्राउ परेका सैनिक चिनियाँ सेनाका नायक भएको बताइएको छ । ती सैनिक भुलवश एलएसीमा प्रवेश गरेको हुन सक्ने भारतीय सेनाले जनाएको छ । भारतीय सेनाका अनुसार, चीनको पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले भारतसँग पक्राउ परेका आफ्नो सैनिकको बारेमा जानकारी मागेको थियो । अब प्रोटोकलको पालना गर्दै ती सैनिक चीनलाई सुम्पिने भारतीय सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
गएको मे महिनायता भारत र चीन सेनाबीच सीमामा तनाव भइरहेको छ । यस क्रममा दुई सेनाबीच झडप पनि भएको थियो । गएको १५ जुन महिनामा लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको झडपमा भारतका २० सैनिकको ज्यान गएको थियो । समस्या समाधानका लागि दुवै पक्षबीच वार्ता भइरहे पनि अहिलेसम्म निष्कर्षमा पुग्न सकेका छैनन् ।